कुन सेलिब्रेटीले कति खर्च गर्छन क्रिम पाउडरमा


(सेलिब्रेटी नेपाल) २६ बैशाख-टेलिभिजन कलाकार दीपाश्री निरौला आफ्नो आम्दानी केमा खर्च गर्छिन् होला? यस्तो जिज्ञासा उनका फ्यानहरूमा उठ्नु स्वाभाविक हो। उनी आफ्नो आम्दानीको अधिकतम खर्च मेकअप र लुगामै हुन्छ। आफू ग्ल्यामर क्षेत्रमा काम गर्ने महिला भएकाले सधै सुन्दर र फिट देखिनु आवश्यक ठान्छिन्, उनी। त्यसैले उनी आफ्नो मासिक कमाइमध्ये करिब १५ हजार जति त सौन्दर्य प्रसाधनका सामग्रीहरू किन्नलाई छुट्ट्याउँछिन्। ‘हामी कसैका आदर्श पात्र हुन सक्छौं, त्यसैले हामीले आफ्नो अनुहारलाई सधैं ताजा बनाइराख्न मेकअप गर्नैपर्ने हुन्छ’, दीपाश्री भन्छिन्।
Dipa-Nisha
लुगा लगायो अनि फाल्यो। त्यसैले यसको गुणस्तरमा त्यति ध्यान दिन नपर्ने उनको भनाइ छ। तर अनुहारको हेरचाहमा भने अलि बढी नै सचेत छिन्। कम गुणस्तरको सामग्री लगाउँदा छाला बिग्रने भएकाले बरु थोरै लगाए पनि विदेशी र ब्रान्डेड सौन्दर्य सामग्री प्रयोग गर्न रुचाउँछिन्, उनी। सुटिङको क्रममा नियमित रूपमा लगाउनु छ भने उनले त्यहीँ अनुसारको किन्न लगाउँछिन्। कहिलेकाहीँ आफ्नै सामान पनि लिएर जान्छिन्। आयुर्वेदिक सौन्दर्य सामग्री भने उनी नेपालमै बनेको प्रयोग गर्छिन्। भ्याएसम्म महिनामा दुई पटक नभए कमसेकम एक पटक फेसियल गर्ने कलाकार दीपाश्री सुन्दर र चम्किलो अनुहारले मानिसमा आत्मविश्वास बढाउने बताउँछिन्। उनी भन्छिन्,’मेकअपमा खर्च गर्न कन्जुस्याइँ गर्न हुँदैन।’
Namrata_Shrestha cbbbbbbbb
नायिका नम्रता श्रेष्ठ भने आफ्नो मेकअपका सामानमा ठ्याक्कै यति नै खर्च लाग्छ भन्ने हिसाबकिताब गर्दिनन्। उनी प्राय: आफू विदेश गएको बेलामा वा आफ्नो दिदी विदेश गएको बेलामा सामान मगाउने गर्छिन्। ‘त्यसैले म मेकअपमा कति खर्च हुन्छ, कुनै हिसाब किताब राख्दिनँ’, उनी भन्छिन्।

उनी प्राय: बडीसपका सौन्दर्य प्रसाधनहरू प्रयोग गर्ने गर्छिन्। लिपिस्टिक त्यति प्रयोग हुँदैन, उनको ओठमा। धेरैजसो लिप ग्लस र लिप बाम लगाउने गर्छिन्। लिपिस्टिक लगाउनै परे पनि म्याक कम्पनीको मात्रै लगाउने बानी छ। विदेश गएको बेलामा उनको किनमेलमा बढी जसो कस्मेटिक्स नै हुन्छन्।

साहित्यकार उषा शेरचन भने आफूले त्यति धेरै महँगा ब्रान्डका उत्पादनहरू प्रयोग नगर्ने हुनाले मेकअपका सामान किन्दा त्यति खर्च नहुने बताउँछिन्। उनी रेभ्लन, ओले, क्लिनिकलगायतका कम्पनीकै सामानहरू बढी किन्ने गर्छिन्।

उनी पनि विदेश गएको बेलामा प्राय: उतैबाट ल्याउँछिन्। तर नेपालमा हुँदा भने सधैं न्युरोडको एउटै पसलमा सौन्दर्य प्रसाधनका सामग्रीहरू किन्ने गर्छिन्।

मिस नेपाल सुबिन लिम्बूले हालसम्म किनेकी सबैभन्दा महँगो सौन्दर्य प्रसाधन भनेको गोस कम्पनीको आईस्याडो हो। एक हजार ६ सय मूल्य परेको उक्त आइस्याडोमा चारवटा रङहरू र बढी टिकाउ पनि भएकाले उनलाई पैसा खर्च गरेकोमा कुनै पछुतो छैन। उनी फ्लोरेलको लिपस्टिक र आईब्रो पेन्सिल प्रयोग गर्छिन् भने लोरेल र क्रेलनको फाउन्डेसन लगाउने गर्छिन्। आफूले पहिले त गाँजल र चिपिस्टिकमात्रै लगाउने गरेको भए तापनि अहिले मिस नेपाल भइसकेपछि भने आफ्नो सौन्दर्य र व्यक्तित्व दुवैमा ध्यान दिनुपर्ने हुँदा अलि बढी मेकअप गर्नुपर्ने उनी बताउँछिन्।

नराम्रो र सस्तोमा किन्नुभन्दा राम्रो र टिकाउ सामग्री महँगै शुल्कमा पनि किन्न तयार हुने सुबिन महिनामा करिब सात हजारको सौन्दर्य प्रसाधनका सामाग्री किन्ने गर्छिन्। उनको लिपिस्टिक नै बढी सकिने गर्छ। त्यसैले किन्ने बेलामा फ्लोरेल, लोटसलगायतका कम्पनीको चारपाँ वटा लिपस्टिक उनी एकैपटक किन्ने गर्छिन्। करिब ६ सय पर्ने ती लिपिस्टिकको रङ भने उनलाई गुलाबी, हल्का गुलाबी, कलेजी, रातो र मासु रङ नै मन पर्छ। ‘हामीले आफ्नो शरीरलाई स्वस्थ र बलियो बनाउनको लागि मासुभात, फलफूल, पानीलगायतका खाद्य सामग्री खाएजस्तै अनुहारको छालालाई सुन्दर, चम्किलो र आकर्षक पार्नको लागि सौन्दर्य प्रसाधनको गुणस्तरमा कुनै सम्झौता गर्न हुँदैन’, उनी भन्छिन्।

हालै एक पत्रिकाले आमाछोरी उस्तै भनेर मेकअप आर्टिष्ट स्नेहा राणा र उनकी छोरीको फोटोलाई आफ्नो कभर फोटो बनाएको थियो। उमेरले ४० कटिसक्दा पनि सधैं उत्तिकै कोमल र सुन्दर देखिन्छ उनको अनुहार। यसको मुख्य श्रेय उनी आफूले प्रयोग गर्ने सौन्दर्य सामग्रीलाई नै दिन्छिन् स्नेहा। यही क्षेत्रमा उनको विज्ञता पनि रहेकाले आफ्नो अनुहारलाई कुन सामग्री कति मात्रामा प्रयोग गर्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ। त्यसैले उनी गुणस्तरीय सामग्रीहरू ठीक मात्रामा प्रयोग गरेर सुन्दर देखिन सकिने सल्लाह दिन्छिन्। उनका ड्रेसिङ टेबलमा कन्सिलर, आइस्याडो, मस्कारा, आइलाइनर, गाजल, ब्लसन, हाइलाइटर, लिपलाइनर, लिपिस्टिकलगायतका १०/१५ थरी आइटममात्रै हुन्छन्। उनले आफ्ना यी सामानलाई कि भारत कि अमेरिकाबाट ल्याउने गरेकी छन्।

भारतको कलरबार र बेलायतको म्याक कम्पनीका सौन्दर्य सामग्री उनलाई मन पर्छ। यही काठमाडौंमा लिपिस्टिक किन्नुपर्दा फ्लोरेललाई नै लिने गरेकी छन्। उनले एक पटक किनेको फाउन्डेसन ६ महिनादेखि एक वर्षसम्म पुग्छ। त्यसैगरी अन्य सामग्री पनि एक डेढ वर्षसम्म पुग्ने हुनाले एक पटक किन्दा करिब ३० हजार जति खर्च हुँदा पनि उनलाई राम्रै कामको लागि लगानी गरे झैं लाग्छ। सस्तो लिपिस्टिकले ओठलाई कालो बनाउने र सस्तो क्रिम पाउडरहरूले अनुहारको छालामा चायाँपोतोजस्तो समस्या ल्याउन सक्ने हुनाले बरू एक छाक कम खाएर भए पनि सौन्दर्य सामग्रीको लागि भने खर्च कटौती गर्न नहुने उनको भनाइ छ। उनी भन्छिन्,’जति राम्रो जिउ भए पनि अनुहार नै राम्रो नभए केही काम लाग्दैन। त्यसैले अनुहारको छालाको राम्रो स्याहार गर्नुपर्छ।’ सस्ता सामग्री प्रयोग गरेर छाला बिग्रिएमा यसलाई उपचार गर्न उल्टै बढी खर्च लाग्ने हुनाले गुणस्तरीय सौन्दर्य प्रसाधनमा खर्च गर्न कन्जुस्याइँ गर्न नहुने स्नेहाको सुझाव छ।
अन्नपुर्ण पोस्ट बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.