सुटिङको चापले प्राबिधिक ब्यस्त


(सेलिब्रेटी नेपाल) १८ चैत्र–हलमा फिल्म एक हप्ता टिक्न धौ–धौ भइरहेको छ, तर सुटिङमा भने फिल्म मारामार छ। फिल्मसँग आवद्धहरु भन्छन्, ‘अहिले देशभर करिब दर्जनभन्दा बढी फिल्मको सुटिङ भइरहेको छ।’राजधानीमा निर्देशक दीपा बस्नेतको ‘श्री ५ अम्बरे’, नारायण रायमाझीको ‘प्रवास’ र प्रणव जोशीको ‘रेशम फिलिली’ र सुब्रत आचार्यको ‘अधकट्टी’को सुटिङ भइरहेको छ।
‘रेशम फिलिली’का प्रोडक्सन म्यानेजर अरुण रेग्मी धेरै फिल्मको एकसाथ सुटिङ भएकाले टेक्निसियन र उपकरण दुवै नपाइएको बताउँछन्। ‘दुई महिना बेरोजगार बसेकाहरु अचानक भ्याइनभ्याइ भएका छन्। धेरै फिल्म बनिरहँदा राम्रो काम गर्ने टेक्निसियन र सामानहरु खाली छैनन्,’ उनले भने।
Hari-ghale-subrat-achary
३५ दिने सुटिङलगत्तै अरुण रेग्मी आफैंले निर्माण गर्ने फिल्ममा व्यस्त हुँदैछन्। ‘रेशम फिलिली’को राजधानीबाहेक सौराह र मकवानपुरका विभिन्न स्थानमा सुटिङ हुने उनले जानकारी गराए।
दीपाको ‘श्री ५ अम्बरे’को सुटिङको प्रोडक्सन हेरिरहेका गणेशकुमार श्रेष्ठले टेक्निसियनहरु भेट्न गाह्रो परेको अनुभव सुनाए। ‘एकै समयमा धेरै फिल्मको सुटिङ जुधेकाले धेरैजसो व्यस्त छन्। मौकाको फाइदा लिनेले बढी रकम माग्दा सम्पूर्ण सुटिङलाई असर पर्ने रहेछ,’ उनले भने।
धमाधम सुटिङ भइरहेको फिल्म ‘कैफियत’का लागि राजधानीबाट ३९ जना टेक्निसियन र कलाकारको टोली पोखरामा सक्रिय छ। २५ प्रतिशत सुटिङ सकिएको फिल्मको प्रोडक्सन हेड प्रकाश महरा लगत्तै ‘धुन’ फिल्ममा व्यस्त हुँदैछन्। ‘कलाकार र टेक्निसियन विभिन्न फिल्ममा व्यस्त भएपछि चैतमा हुने भनिएको ‘धुन’को सुटिङ वैशाख पहिलो हप्ताका लागि सारेका छौं। सुटिङ सार्ने बाहेक विकल्प थिएन,’ उनले भने।

झन्डै एक महिना बिनाकाम मलेसियामा बिताएका क्यामेराम्यान पुरुषोत्तम प्रधान मलेसियाबाट फर्केलगत्तै ‘तान्द्रो’मा व्यस्त छन्। ‘ब्याक एन्ड ह्वाइट’को सुटिङ रोकिएपछि उनी ‘तान्द्रो’को लागि लमजुङ हानिएका हुन्। ‘तान्द्रो’ लगत्तै पुरुषोत्तम प्रधान निर्देशक सुवर्ण थापाको फिल्ममा व्यस्त हुनेछन्। उनले धेरै फिल्म सुटिङ भइरहेकाले कामको चाप धेरै रहेको स्वीकारे।
‘धेरै फिल्ममा एकै समय काम गर्नुपर्दा भ्याइनभ्याइ छ। मैले गर्ने फिल्मको टेक्निसियन र सामानहरु तीन महिनाअघि नै बुकिङ गर्ने हुनाले समस्या भएको छैन। मेरो आफ्नै समय मिलाउन गाह्रो भइरहेको हो,’ प्रधानले भने।

फिल्म ‘अधकट्टी’ पनि टेक्निसियन र क्यामराको कारणले वारम्बार पछाडि सरेको थियो। प्रोडक्सन म्यानेजर अर्जुन पोखरेलले भने, ‘रेड क्यामेरा व्यस्त भयो। टुकेमा फिल्म गर्ने भन्दा निर्देशक मान्नु भएन। सबै मिलाउँदा सुटिङ केही हप्ता ढिला सुरु गर्नुपरेको हो।’ फिल्ममा प्राविधिक र कलाकारसहित ४० जनाको टोली समावेश छ।
यसबाहेक चितवनमा सुटिङ भइरहेको फिल्म ‘सेतो बाघ’मा प्राविधिकहरु जुटाउन समस्या भएको प्रोडक्सन हेड शंकर पाण्डेले बताए। ‘एकसाथ धेरै फिल्मको सुटिङ हुँदा भनेजस्तो कलाकार पाउन अप्ठ्यारो भइरहेको छ। त्यसबाहेक बुकिङ भएको सामान पनि पाइँदैन,’ उनले भने। निर्देशक नीर शाह देशबाहिर रहेकाले फिल्मको सुटिङ केही दिनका लागि रोकिएको छ।
वीरगञ्जमा सुटिङ भइरहेको ‘जंगे’को काम पनि प्रभावित भएको निर्माता सुसन प्रजापतिले बताए। ‘काम गर्न टेक्निसियन पाएपछि बल्ल सुटिङ हुँदैछ। कलाकार र टेक्निसियनको समय मिलाउन कथाअनुसारका ऋतुहरुमा धेरै सम्झौता गर्नुपरेको छ,’ सुसनले भने।
नागरिक दैनिक बाट साभार