नाट्य शिरोमणी बालकृष्ण सम




नाट्य शिरोमणी बालकृष्ण सम

  • पिता -समरशमशेर
  • माता -किर्तिराज्यलक्ष्मी राणा
  • जन्म- वि.सं. १९५९ माघ २४ गते
  • जन्म स्थान-ज्ञानेश्वर काठमाडौँ

 

  • आबद्दता- रेडियो नेपालमा निर्देशक, गोरखापत्रका प्रधानसम्पादक, तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति
  • प्रसिद्द साहित्य रचना – मुकुन्द इन्दिरा,मुटु को व्यथा,प्रल्हाद, अमरसिंग
  • उनी एउटा उच्चकोटिका लेखक त थिए नै, सफल चित्रकार र कुशल अभिनेता पनि थिए । दार्शनिक थिए । उनले लेखेका कैयौँ रचना दर्शनमा आधारित छन् । उनले कैयौँ नाटकमा आफूलाई मञ्चित गरे । नाट्यविधाप्रतिको त्यही लगाव अनि सक्रियतालाई सम्मान गर्दै उनलाइ ‘नाट्यसम्राट’को पदवी दिइएको छ । नेपाली वाङमयको उत्कृष्ट र उच्चकोटिको सेवा गरेबापत सम गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भए । उनले राजकीय पदक, त्रिभुवनजयन्ती पदक, त्रिभुवन प्रज्ञापुरस्कार पाए । ‘पृथ्वी प्रज्ञा पुरस्कार’बाट सम्मानित हुने पहिलो स्रष्टा पनि उनै थिए ।उनका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
  • मृत्यु-२०३८ साउन ६ गते ।

उनि द्वारा रचित कविता
इच्छा

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।
यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।
बज्ला मन्दिरमा “तथास्तु” जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।
नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।