मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर



काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् ।

उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको प्रस्तुतीले नै दिलाएको हो । सोनी टेलिभिजनमा आइतबार राति प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’ मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । आइतबारको एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रशारण गरिएको थियो ।

उक्त शोको निर्णायकमध्येकी श्रेया घोषालले उठेर बधाई दिएकी थिइन् । अर्का निर्णायक कुमार सानुले ताली बजाउँदै बधाई दिएका थिए । मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’ को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर सिनेमाको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।

यतिबेला मेनुका दृष्टिविहीनहरुका लागि समेत प्रेरणाको स्रोत बनेकी छन् । झापा बिर्तामोडकी उनले एक दर्जन बढी नेपाली गीत गाइसकेकी छन् भने सिनेमा ‘लिलिबिली’को ‘हावा सरी’ गीतबाट पार्श्व गायनमा डेब्यू गरेकी थिइन् ।

मेनुका ‘इन्डियन आइडल’को ‘टप १४’मा पुगिसकेकी छन् । उनलाई उपाधिको हकदारको रुपमा हेर्न थालिएको छ । मेनुकाले २०७४ सालमा नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’मा समेत भाग लिएकी थिइन् । तर, कम भोट पाएपछि उनी शीर्ष ११ बाट बाहिरिएकी थिइन् ।