हिन्दि फिल्म ‘वान्टेड’,‘धूम २’का अभिनेता नेपाली फिल्ममा



काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नेगेटिभ क्यारेक्टरमा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन लागेका हुन् ।

बिहीबार बिहानदेखि बालाजु ल्याबमा जोशको भागको छायांकन भइरहेको निर्देशक बाबु साहेव बलामीले बताए । फिल्मको अन्तिम चरणको छायांकन ६ दिन सम्म चल्नेछ ।

फिल्ममा ह्यारीको विशेष भूमिका रहने बलामीले जानकारी दिए । फिल्म हिन्दी भाषामा पनि बनेकाले भारतीय कलाकारलाई समेटिएको उनको भनाई छ । फिल्म नेपालसँगै भारतका सिनेमा हलमा पनि रिलिज हुनेछ ।

एक्सन-लभस्टोरी कथामा बनेको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनाको पनि अभिनय रहेको छ । मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् ।

अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा छन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ ।