‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र



काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई अनुबन्धित् भइसकेका छन् ।

हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक सहकार्य हुन लागेको हो । ‘नाङ्गो गाउँ’ को सफलतासँगै निर्माता कडरियाले निर्देशक लामाकै लेखन,निर्देशनमा एउटा बेनामे र अर्काे ‘नाङ्गो गाउँ–२’ गरी दुई चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए ।

०८० को अन्त्यतिरबाट छायांकन सुरु गरिने चलचित्रका अभिनेत्री लगायत अन्य कलाकर तथा प्राबिधिक चयन कार्य बाँकी छ । काठमाडौंमै खिचिने चलचित्र सोसियल कमेडी जनराको हुने जानकारी निर्देशक लामाले दिएका छन् । निर्देशनको हिसाबले ‘दुखी आत्मा’ निर्देशक लामाको छैठौं चलचित्र हो । यसअघि उनले ‘घामपानी’,‘गोपी’,‘छ माया छपक्कै’,‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । अधिकांश प्राबिधिक टोली ‘नाङ्गो गाउँ’ कै रहने यो चलचित्रको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ ।