रोहितको ‘फर्की फर्की’को शुभमुहुर्त,अनमोल र जसिताको जोडी पर्दामा



काठमाडौँ। रोहित अधिकारीको निर्माणमा बन्ने चलचित्र ‘फर्की फर्की’ को शुभसाइत सम्पन्न भएको छ । चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने छ। चलचित्रको छायांकन मंसिर ११ गतेबाट पोखरामा सुरु हुनेछ । यो चलचित्रलाई आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

चलचित्रलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् । चलचित्रमा सुयोग गुरुङको निर्देशन रहनेछ । चलचित्रमा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् ।

चलचित्रमा अनमोल र जसिताको साथमा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ । यस्तै चलचित्रमा रवि काफ्ले र समृद्धी अर्यालले डेब्यू गर्दैछन् । चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहने छ । फिल्म ‘फर्की फर्की’मा प्रोडक्शन हेडको रुपमा शंकर पाण्डे रहेका छन् । निर्माणपक्षले दिएको जानकारी अनुसार, चलचित्रको छायांकन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।