सिनेमा घर र निर्माताबिचको विवाद टुंगियो

दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो ।



काठमाडौँ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ बिच रहेको शेयर बाँडफाँडको विवाद टुङ्गिएको छ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकले दुवै संस्थाले ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमतिमा विवादलाई निकास दिएका हुन् ।

प्रदर्शन र निर्माताले ५०/५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबिच भएको नेपाल चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए । कायस्थका अनुसार प्रदर्शकले राज्यलाई तिर्ने विकास शुल्क छुटका राज्यसँग प्रदर्शन र निर्माता दुवैले पहल गर्ने सहमति समेत भएको छ ।

केही अगाडि फिल्म ‘दिमाग खराब’ टिमले शो र ५० प्रतिशत शेयर बाँडफाँडको कुरा उठाएर हलबाट उतार्ने घोषणा गरेको थियो । त्यसपछि, चलचित्र सङ्घ र निर्माता सङ्घका प्रतिनिधिहरू पहिलो चरणको वार्ता बस्दै ‘दिमाग खराब’ को प्रदर्शनलाई निरन्तरता दिँदै वार्ता अगाडि बढाउने सहमति गरेका थिए ।

दोस्रो चरणको वार्ताका लागि प्रदर्शक र निर्माताको तर्फबाट छुट्टाछुट्टै वार्ता टोली गठन भएका थिए । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको थियो ।

निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य रहेका थिए । चलचित्र सङ्घको तर्फबाट गठित वार्ता टोलीमा पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य थिए ।