मुकुन र लक्ष्मीको ‘बिच्छेद’ टिजर र पोस्टर सार्वजनिक



काठमाडौँ। मुकुन भुसाल र लक्ष्मी बर्देवा स्टारर नेपाली चलचित्र ‘बिच्छेद’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा दम्पतीको सम्बन्ध र बाध्यताका कुरा समावेश गरिएको छ ।

यसअघि मुकुन र लक्ष्मीले चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए । अभिनयमा यी दुवै कलाकार उम्दा मानिन्छन् । नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको निर्देशक सत्यराज चौलागाईंले बताए । यो चलचित्रका निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन् । सह निर्माता प्रबिन राजथला हुन् ।

अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको छ । मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ ।

चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ । सुरेन बसेल कोरियोग्राफर हुन् । चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।