चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ। निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । उनको यो डेब्यु चलचित्र हो ।

भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड सिनेमामा भने ब्रेक पाइसकेका छैनन् । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको चलचित्रका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । चलचित्रमा निर्माता अमित स्वयंको पटकथा लेखन रहेको छ ।

चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अर्जुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा सिनेमाको छायांकन सुरु भएको थियो ।