पाइरेसीमा संलग्न व्यापारीहरुलाई पक्राउ गरेर कारबाही नगरी छाडियो


 bidur-giri-raj-kumar-rai

(सेलिब्रेटी नेपाल) ३ भाद्र-नेपाली चलचित्र तथा गीतसंगीतका अडियो र भिडियो सामग्रीको अवैध रुपमा कारोबार गर्ने व्यापारीहरुलाई पक्राउ गरेर पनि प्रहरीले उन्मुक्ति दिएको कुरा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रतिलिपि अधिकार संरक्षण केन्द्र नेपालले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रहरी वृत्त स्वयम्भुले पाइरेसीमा संलग्न १६ जना व्यापारीहरुलाई पक्राउ गरे पनि कारबाही नगरी छोडिदिएको र उल्टै ‘थुनिदिने’ धम्की दिएको आरोप लगाएको छ। रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका सदस्य शमशेर श्रेष्ठले जानकारी गराएअनुसार सबुत प्रमाणसहित गत बुधबार पक्राउ परेका व्यापारीलाई प्रहरीले बिनाकारबाही उन्मुक्ति दिएको हो।

पत्रकार सम्मेलनमा अधिवक्ता परशुराम कोइरालाले भने प्रहरीकै अगाडि यस्ता अपराध भइरहेको भेटिए प्रहरी आफैंले प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम कारबाही गर्न सक्ने बताए। ‘प्रतिलिपि अधिकार हनन भइरहेको अवस्थामा प्रहरी आफैंले देख्यो भने पक्रेर २५ दिनसम्म थुनामा राखी अनुसन्धान गर्न सक्छ’ कोइरालाले भने। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले संविधान नहुनुका परिणाम पाइरेसीमा पनि देखिएको बताए। चलचित्र विकास बोर्डका सदस्य नीलहरि काफ्लेले आफू पाइरेसीको संयोजक भए पनि नेतृत्वको असक्षमताको कारणले सो पदबाट राजीनामा दिएको बताए। काफ्लेको भनाइको खण्डन गर्दै निर्माता संघका अध्यक्ष राईले बोर्डबाट पाइरेसीका लागि कहिल्यै पनि कुनै काम कारबाही नभएको बताए। चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले पाइरेसी नियन्त्रण गर्नका लागि प्रहरीले साइबर सेलजस्तै पाइरेसी सेल पनि सञ्चालन गर्न सुझाव दिएका थिए। कार्यक्रममा प्रतिलिपि अधिकार रजिस्ट्रारका सदस्य विष्णुकुमार केसीले पाइरेसीसम्बन्धी प्रहरीसँगको सहकार्यमा प्रत्येक जिल्लामा काम भइरहेको बताए। उनले पाइरेसीबाट देशको अर्थतन्त्र र स्रष्टामा ठूलो प्रभाव पार्ने बताएका थिए।

कार्यक्रममा एसएसपी हेमन्तबहादुर पालले भने यस्तो मुद्दा सरकारवादी भएको हुनाले यसमा नेपाल प्रहरीको जिम्मेवारी बढी हुने बताए। ‘सप्रमाण ल्याउँदा पनि यो केसमा असन्तुष्टि जन्माउने काम भएको भए यसको गहिरो रुपमा अनुसन्धान गरिनेछ। केन्द्रका अध्यक्ष विजय बस्नेतले स्वयम्भु वृत्तकै समस्या अन्य स्थानमा पनि भोग्दै आएको खुलासा गरे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.