चलचित्र ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक



काठमाडौँ। झरना थापा निर्देशित चलचित्र ‘एक भागवत र एक गीता’को गीत सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको ३ दिनअघि मंगलवार एक कार्यक्रमका बीच ‘झिझिया’ शीर्षकको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार विपिन कार्की र सुहाना थापालाई प्रस्तुत गरिएको छ । जनकपुरको जानकी मन्दिरमा यस गीतको छायांकन गरिएको हो ।

सार्वजनिक गीतमा नेहा प्रियादर्शिनी र प्रवेश मल्लिकको स्वर छ । गीतमा संगीत पनि प्रवेशले नै भरेका छन् । सुहानाको कन्सेप्ट, झरनाको कथा रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको छायांकन राजेश श्रेष्ठले गरेका हुन्।

चलचित्रमा विपीन र सुहानाका साथमा धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवर, रेअर राई लगायतको अभिनय छ ।

यही शुक्रवार अर्थात् भदौ २९ गतेदेखि चलचित्र प्रदर्शनमा आउनेछ । यसअघि ‘एक भगवत् गीता’ नाम रहेकोमा यसलाई केही परिवर्तन गरेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो । सामाजिक कथामा बनेको यो चलचित्र सेन्सर पास भइसकेको छ ।