‘एक भगवत् गीता’को गीत सार्वजनिक,सुहाना र धिरज ‘मायालाई चिनो’ साट्दै



काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीत ‘मायालाई चिनो’मा चलचित्रका मुख्य पात्र धिरज मगर र सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई बुनिएको छ । कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाका रमणीय स्थानमा खिचिएको हो ।

शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर सुन्न सकिन्छ । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा धिरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।