अभिनेता कार्कीको जन्मदिनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक

सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।



काठमाडौँ। अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो ।

‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको पशुपति प्रसाद २ : भष्मे डनमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ । आगामी बडा दशैंको फूलपातीबाट चलचित्र प्रदर्शनमा आउनेछ ।