‘जुलेबी’राम्रो व्यापार गर्ने सम्भावना बोकेको चलचित्र हो : निर्देशक पाण्डे



काठमाडौँ । निर्देशक गणेशदेव पाण्डेले चलचित्र ‘जुलेबी’ महिलाको संघर्ष कथा रहेको बताएका छन् । विभिन्न समयमा आफूसँग ठोकिएका महिला पात्रहरुलाई सम्झिएर चलचित्रको कथा बनाएको उनले बताए ।

‘‘जुलेबी’मा ७ जना पात्रहरुको व्यक्तिगत जीवनमा घटेका ५ घटनाहरुको कथा मिश्रण छ’, पाण्डेले भने ‘पात्रहरुबीच बन्ने सम्बन्धमा र भत्किने सम्बन्धको कथा नै चलचित्र हो ।’

‘मालतीको भट्टी’, ‘मञ्जरी’, ‘गाँजाबाजा’ जस्ता अलग चर्चा योग्य चलचित्र बनाएका पाण्डे केही वर्षपछि निर्देशनमा देखिएका हुन् । चलचित्रको लेखन समेत पाण्डे आफैले गरेका हुन् । चलचित्रको ट्रेलर हेरेपछि धेरैले चलचित्रलाई यौन मनोविज्ञानको कथा समेत भनेका छन् ।

चलचित्रमा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा, तुफान थापा लगायतको अभिनय रहेको छ । चलचित्रमा पुरुष पात्रले महिलाप्रति राखेको आकर्षण फरक–फरक तरिकाले देखाइएको पाण्डे सुनाउँछन् । उनी भन्छन्, ‘जुलेबी’ राम्रो व्यापार गर्ने सम्भावना बोकेको चलचित्र हो । राम्रो कन्टेन्टमा चलचित्र बनाएका छौं । दर्शकलाई चलचित्रबारे जानकारी दिन सकियो भने राम्रो हुन्छ ।’ आभा शर्मा नेपालले निर्माण गरेको चलचित्र आगामी भदौ १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्रको ट्रेलरले दर्शकमा कौतुहलता थपेको छ।