चलचित्र ‘परस्त्री’ नेपालमा हिन्दी भर्सनमा रिलिज नहुने



काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को नेपालको प्रचार-प्रसारको काम सकेर अहिले भारतका विभिन्न शहरमा प्रचारको काम तीव्र गतिमा भैरहेको छ । केहीदिन मुम्बईमा चलचित्रको प्रचार-प्रसार गरेको निर्माण टिम सोमबार भारतको राजधानी दिल्ली पुगेको हो ।

चलचित्रको निर्माण टिमले सोमबार दिल्लीमा पत्रकार सम्मेलको आयोजना गरेको थियो । जहाँ चलचित्रको कथावस्तु बारेमा चर्चा गरिएको थियो । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र हेर्न नेपालमा मात्रै नभई भारतमा पनि दर्शक उत्साहित रहेको प्रतिक्रिया मिलेको निर्देशक सुरज पाण्डेले बताए ।

यस्तो कथामा अहिलेसम्म नेपालमा सिनेमा नै निर्माण नभएको भन्दै सिनेमाको प्रिजेन्टेससन भने नेपाली दर्शकको स्वाद अनुसार निर्माण गरेकाले केही फरक लाग्न सक्ने निर्देशक पाण्डेले बताए । दिल्लीमा पत्रकारसँग कुरा गर्दै अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन् । उनले अवसर पाएको खण्डमा आफु बलिउड सिनेमामा समेत काम गर्न तयार रहेको बताइन् ।

अभिनेत्री गौरव बिष्टले ‘परस्त्री’ जस्तो चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि ठुलो अवसर भएको बताए । उनले भारतीय दर्शकलाई नेपाली चलचित्रलाई पनि बलिउड सिनेमा जत्तिकै माया गरिदिन आग्रह गरे । चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को चलचित्र पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् ।

यसैबीच मंगलबार निर्मात्री पाण्डेले मंगलबार समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिइन् । नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक कन्फ्युज रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन् ।

नेपाल र भारतमा एकसाथ रिलिज हुने भएकाले पनि चलचित्रप्रति दर्शकको अपेक्षा र हाइप उच्च छ । विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हन् ।

चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । दीपेन्द्र के खनाल सिनेमाका निर्माता तथा लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।