‘हामी सधैँ गाउँको कथा, प्रेम रोमान्सको कथा हेर्दा दिक्क भएका छौ’ विजय लामा



काठमाडौँ । विसं २०४० को चलचित्र ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । पाइलटका रूपमा अलग्गै पहिचान छ उनको । साहसी, आँटिलो स्वभावका उनको कलाकारितामा पनि अलग्गै उचाइ छ ।

विजय पछिल्लो समय नियमित पाइलट कर्मको अलावा फिल्म ‘अन्तिम संस्कार’को काममा पनि व्यस्त छन् । यही असार ८ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘अन्तिम संस्कार’ मा उनको मुख्य भूमिका छ । फिल्मको अहिले प्रचारप्रसार तीव्र गतिमा चलिरहेको छ ।

‘अन्तिम संस्कार’ प्रदीप शाही निर्देशित फिल्म हो । प्रदीपले यसअघि ‘गोर्खाः विनिथ विथ ब्रेभरी’ दिएका थिए । उक्त फिल्मको ट्रेलरबाट प्रभावित विजयलाई प्रदीपसँग काम गर्ने इच्छा थियो । त्यो अन्तिम संस्कारले पुरा गरिदियो । निर्देशक र फिल्मको कथा मन परेकोले फिल्ममा आफू जोडिएको विजयले सुनाए ।

‘अन्तिम संस्कार’को सेन्टर क्यारेक्टर नै लामा हुन् । ‘फिल्मको हिरो भन्दिन, फिल्मभित्र जति क्यारेक्टर छ, त्यो मसँग ठोकिन्छ’, उनले फिल्मबारे भने, ‘फिल्मको कथा एकदमै राम्रो छ । अहिले खोल्न मिल्दैन ।’ फिल्ममा आफ्नो च्यालेन्जिङ भूमिका रहेको उनले जानकारी दिए ।

फिल्ममा उनको अलावा दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राईलगायत कलाकार छन् । उनी सबै कलाकारको साथमा प्रचार प्रसारको दौडमा छन् । ‘हाम्रो फिल्म विदेशका ठुला लगानीका फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले, फिल्मको व्यवसाय राम्रो हुन सकिरहेको छैन’, विजयले भने, ‘हाम्रो देशमा अहिले नेपाली फिल्म कम हेर्छन् । हामी सबैलाई फिल्म हेर्न बनाउन लागि परेका छौ ।’

‘अन्तिम संस्कार’ नामबाटै जो कोहीले फिल्म आर्यघाटको कथामा होला भनेर अनुमान गर्न सक्छन् । तर होइन, फिल्म हत्याको कथामा बनेको छ । ‘हामी सधैँ गाउँको कथा, प्रेम रोमान्सको कथा हेर्दा दिक्क भएका छौ’, उनले भने, ‘केही फरक स्वाद पस्किने कोसिस फिल्मले गरेको छ ।’

‘मानिसलाई मृत्युदेखि सधैँ डर हुन्छ । त्यसैले, उसले मृत्युको बारेमा बोल्न, कुरा गर्न चाहँदैन’, उनले थपे, ‘अन्तिम संस्कार’ मृत्युपछिको जन्म हो । मुक्ति प्राप्तिको मार्ग हो ।’ जीवनको सबैभन्दा ठुलो सत्य मृत्यु हो । यही मृत्युपछिको पवित्र संस्कार ‘अन्तिम संस्कार’ समेत फिल्ममा रहेको उनले बताए ।