चलचित्र ‘हुक्का’ साथीभाई, परिवार भित्रको कलह र झैझगडाको कथा



काठमाडौँ । निर्देशक शम्भु थापाले फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ हाम्रा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा बनेको बताए । अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ ती विषयवस्तु फिल्ममा रहेको थापाको भनाई छ ।
‘हुक्का एउटा बच्चाले देख्ने सपनाको विभिन्न पाटोमा निर्माण भएको हो’, थापाले भने ‘फिल्मले अहिलेको समाजको प्रतिनिधित्व समेत गरेको छ ।’ हाम्रो धनसम्पती सुख सबै हाम्रो आँगनमै हुन्छ । त्यो कुल्चिएर हामी अन्त खोज्न भौँतारिने गरेको देखाउन खोजिएको उनले सुनाए । ‘यो एक व्यक्तिको सपना पनि हो । जुन हाम्रो समाजको हो छ’ थापाले थपे ।

फिल्मको विषयमा सामन्तवाद देखाउन खोजिएको भन्ने समेत हल्ला चलेको थियो । निर्देशक थापाले सामन्तवाद भन्दा पनि समाजको यर्थात विषय फिल्ममा पस्किएको स्पष्ट परे । उनले फिल्ममा सामन्तवादको केही विषय रहेको खुलाए ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म अभिनेता तेज गिरीले फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ आफ्ना लागि विशेष रहेको बताए । केही अगाडि ‘प्रेमगञ्ज’ फिल्म दिएका गिरीले यो फिल्ममा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निवार्ह गरेको बताए । ‘मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने मेरो भूमिका छ’, गिरीले भने ‘मेरो अभिनयले फिल्मको कथामा नयाँ मोड ल्याउँछ ।’ फिल्म रिलिजबाट आफूले धेरै आस गरेको उनका धारणा छ । ‘साथीभाई, परिवार भित्रको कलह र झैझगडा फिल्म हो’ गिरीले थपे ।

अभिनेत्री तलिसा गुरुङले आफूले गुरुङ फिल्म धेरै खेलेपनि नेपाली फिल्म अभिनय आफ्नो ‘हुक्का: एन एब्सर्ड ड्रिम’ पहिलो भएको बताइन् । ‘पहिलो फिल्म नै राम्रो टिम र कथामा काम गन पाए’, गुरुङले थपिन् ‘फिल्मबाट राम्रो अपेक्षा गरेकी छु ।’ यो फिल्मले आफूलाई अभिनयमा रहिरहन अवसर दिलाउने उनको विश्वास छ । फिल्ममा आफू धनी परिवारको बुहारीको रूपमा देखिने उनले सुनाइन् ।

प्रकाश घिमिरे पोखराका मेकर र कलाकारले भरिएको फिल्म भएकोले ‘हुक्का: एन एब्सर्ड ड्रिम’ आफ्ना लागि विशेष भएको बताए । फिल्ममा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने उनले सुनाए । ‘फिल्ममा मेरो भूमिका कहिले कहिले नरम स्वभावको छ । कहिले कडा’, उनले थपे ‘बच्चा पात्रले मेरो सपना देख्ने हो ।’ फिल्म सबैको लागि उपयुक्त रहेको प्रकाशले सुनाए । भने ‘फिल्म एकदमै रमाइलो छ । रिलिज पछि यसको व्यापक माउथ पब्लिसिटी हुनेमा आसावादी छौ ।’

लेखक समेत रहेका कलाकार सन्तोषकुमार आत्रेय फिल्मको कथा अहिलेसम्म आएको फिल्म भन्दा भिन्न भएको बताए । उनले एउटा बच्चा हुक्का खाने प्रतिष्ठित व्यक्तिको स्थानमा पुग्न प्रयास गर्ने छोटो बाटो नै फिल्म हो ।

कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कल संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले फिल्ममा लगानी गरेको बताए । १२ जेठबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान् पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् ।