नेपालमा बिदेशी चलचित्रको छायाँकन बढ्दै


रघुनाथ सापकोटा
काठमाडौँ। केही समयदेखि नेपालमा भारतीय तथा अन्य बिदेशी चलचित्र तथा सिरिजको छायाँकन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाँकन स्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन ।

सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ। थुप्रै हिन्दी चलचित्रको छायांकन नेपालमा सम्पन्न भएको छ। विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको आफ्नै प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाले यहाँ छायांकन गर्न विदेशी चलचित्र तथा वृत्तचित्रका निर्मातालाई आकर्षित गर्दै आएको छ। विभिन्न टेलिभिजन विज्ञापन (टीभीसी) को पनि नेपालमा छायांकन गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ। यसले अन–लोकेसन सुटिङका लागि नेपालको बढ्दो लोकप्रियतालाई झल्काउँछ।

विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै सिरिजसमेत आउन थालेका छन् ।

प्रवृत्ति केलाउँदा विदेशी चलचित्रकर्मीहरूले काठमाडौं, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्रका साथै सगरमाथा र चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, जोमसोम,नगरकोट र हिमाली उपत्यकाका स्थलहरूलाई प्राथमिकता दिएका छन्। विगतमा पनि चर्चित भएका विभिन्न चलचित्रको छायांकन नेपालमा भएको थियो। हालै सोनी पिक्चर्स इन्टरनेसनल र रेनेसान्स पिक्चर्सद्वारा निर्मित हिन्दी चलचित्र भिटी १३ (वर्किङ टाइटल) को नेपालको सुन्दर दृश्यमा केहि साता अघि छायांकन गरिएको छ। शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको यो चलचित्र सत्य घटनाबाट प्रेरित रहेको चलचित्रमा वरुण तेज र मानुषी मुख्य भूमिकामा छन्।

हिन्दी फिल्म भिटी १३ का लाईन प्रोड्युसर फुर्वा शेर्पा हुन् । शेर्पा रेकर्ड होल्डर निर्माता र निर्देशक हुन् र सीएनएन, नेशनल जियोग्राफिक, एबीसी र लन्डन स्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनाहरूमा काम गरेका छन्। भिटी १३ लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो । अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो ।

दुई साता अघि मात्रै काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाँकन भएको थियो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हाले समेत १० दिन एक सिरिजको छायाँकन काठमाडौँ देखि पोखरासम्म गरे । अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायाँकनसमेत पोखरामा भएको थियो ।

भारतीय र दक्षिण भारतीय चलचित्र उद्योगमा संलग्न नेपाली राजेन्द्र घिमिरेले पनि समय समयमा भारतीय फिल्म मेकरहरुलाई नेपालमा ल्याएर छायाँकनको प्रबन्ध मिलाउने कार्य गर्दै आइ रहेका छन्। यसै साता एक टोलि सहित घिमिरेले मनाङ्ग र मुस्ताङ्गमा र्याकी समेत गरेका छन्। नेपालमा छायांकनको लागी आबस्यक ब्यबस्था मिलाउने र क्रियटिभ टिममा समेत रहेर काम गर्दै आएका निर्देशक जनकदीप पराजुलीका अनुसार नेपालमा छायाँकन गर्न आउने धेरै बिदेशीहरुको चाहना हुन्छ। उनीहरुको चाहना अनुसार यहाँको प्रक्रिया सहज बनाउने र नेपाल सरकारले आबस्यक समन्वय गर्ने हो भने अझै धेरै बिदेशीहरु नेपाल छायांकनको लागी आउने र नेपालको पर्यटन व्यवसाय अझै बढ्ने पराजुली बताउछन्।

ससाना सिरिज, म्युजिक भिडियो उत्तिकै संख्यामा छायाँकन भइरहेका हुन्छन् । नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन सुरज आचार्यले जानकारी दिए । सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको सिरिज सँगै फर्जी, उचाइलाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाँकनमा चाहिने सम्पूर्ण व्यवस्था प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् ।