‘गए जाला ज्यान’आनन्द कार्की !


ananda-karki-singer c
(सेलिब्रेटी नेपाल) १५ साउन-नेपाली सांगीतिक आकाशमा आनन्द कार्की नामजत्तिकै आनन्ददायक गायकका रूपमा परिचित छन्। नेपाली मात्रै होइन, हिन्दी गीतका लागि पनि ख्याति कमाएका यी ह्यान्डसम गायक जे गाउँछन्, खुलेर गाउँछन् र प्रशंसा पनि त्यसै गरी कमाउँछन्। सोलुखुम्बुको तिङ्ला गाविसमा जन्मिएका कार्की ६ वर्षको उमेरमै भारततर्फ हानिए। बुबा विष्णुबहादुर कार्की भारतीय सेनामा जागिरे रहेका कारण उनी पनि बुबासँगै लखनउ पुगे। नेपालमा जन्मे पनि बाल्यकाल भारतमा बितेकाले उनले नेपालीभन्दा हिन्दी भाषामा ज्ञान हासिल गरे रे। ‘मेरो बाल्यकाल भारतमा बितेकाले मैले शुरुमा हिन्दी भाषा जानें। भारतीय भाषा बोल्दाबोल्दै पछि नेपाली भाषै बिर्सिएला कि जस्तो पनि हुन्थ्यो’, आनन्द बाल्यकाल सम्झन्छन्– ‘नेपाल आएपछि फेरि आफ्नो भाषा सिक्नुपर्यो।’

लखनउ बसाइका क्रममा त्यहीं नै औपचारिक शिक्षासमेत लिएका उनले इन्टरमिडियटसम्म गरे भने संगीतमा विषारदसम्मको शिक्षा लिए। शास्त्रीय संगीतको शिक्षा लिएसँगै उनले विभिन्न हिन्दी तथा नेपाली गीतमा स्वर दिन थाले। लखनउको भातखण्डे संगीत महाविद्यालयमा उनले धरम्पाल पडगरूपासँग संगीत शिक्षा लिएका छन् भने मुम्बईमा पण्डित जसराजसँग पनि संगीतको शिक्षा हासील गरेका छन्। त्यस्तै काठमाडौंमा पनि उनले उस्ताद नरराज ढकाल र चन्दन श्रेष्ठसँग संगीतको अध्ययन गर्दै आफ्नो गायन कलालाई निखार्दै लगे।

२०४२ सालमा काठमाडौं फर्केपछि शक्ति वल्लभको संगीतमा पहिलोपटक जीवनमा धेरै खोला तर्नुछ बोलको गीत गाएर स्रोतामाझ आफ्नो स्वर पुर्याएका गायक कार्कीले त्यही साल रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि स्वदेशमा मात्र होइन, विभिन्न देशमा गएर आफ्नो प्रस्तुति दिँदै नेपाली संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउँदै आएका छन्। भारत, पाकिस्तान, थाइल्यान्ड, सिंगापुर, हङकङ, जापान, यूएई, कतार, डेन्मार्क, लन्डन मलेसिया, हंगेरी, चाइनाजस्ता देशका सांगीतिक भ्रमण गरिसकेका उनले सन् १९९९ मा लन्डनमा आयोजित इन्टरनेसनल सारेगम अन्ताक्षरीको उपाधिसमेत हात पारेका छन्। त्यस्तै छिन्नलता पुरस्कार १९९७ र २००९, प्रबल गोर्खा दक्षिण बाहुजस्ता मान पदवी र सम्मानलाई आफ्नो बनाउँदै आएका छन्।

काठमाडौं आएपछि उनलाई संगीत क्षेत्रमा लागन भने गाह्रै भयो रे। ‘म काठमाडौं आएपछि संगीतका लागि थुप्रै संघर्ष गरेको छु। त्यतिखेर मलाई खासै कसैले पत्याएनन्। तर म निरन्तर रूपमा लागेर नै म सफल भएँ। कसैले त मेरो स्वर राम्रो देखेर म पछि पर्छु कि भन्ने हिसाबले पनि बेवास्ता गरे’ –आनन्दले विगत सुनाए। हिन्दीमा पनि उत्तिकै एल्बम प्रकाशन गरेका उनका हिन्दी एल्बमहरू खुस्बु, तुम बिन जाउँ कहाँ, अगर तुम ना होते, टु दि लभर्स अफ किशोर कुरमारलगायतका हुन्। पाश्र्व गायनमा पनि उत्तिकै जमेका यी फरासिला गायकले भजन पनि गाउन भ्याएका छन्। सोमालता, आनन्द कार्कीका भजनलगायतका भजन एल्बम पनि प्रकाशन गरेका छन्। २ हजारभन्दा बढी गीतमा आफ्नो गला भरिसकेका र आनन्द कार्कीका गजलहरू, गीत गजल, मेरो फूल, फेरि तिम्रो याद आयो, पर्दाजस्ता १३ एकल एल्बम बजारमा ल्याइसकेका यी हसिला गायकले सोमबार आफ्नो १४औं एकल एल्बम गए जाला ज्यान सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रमुख अतिथि किरण खरेलले एल्बमको फ्लेक्स बोर्ड सार्वजनिक गरेका थिए। उनको यो चौधौं एल्बम भएका कारण १४ जना अतिथिले १४ वटा दियो प्रज्वलित गरी कार्यक्रम शुभारम्भ गरेका थिए। एल्बम सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि किरण खरेलले आनन्द कार्कीजस्ता गायकलाई मुखले मात्रै नभएर काममा पनि प्रथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा डा. कृष्णहरि बरालले एल्बमका बारेमा समीक्षात्मक टिप्पणी राखेका थिए भने संगीतकार शक्ति वल्लभ, नायक भुवन केसी, सञ्चारकर्मी भरत शाक्यलगायतले गायकलाई शुभकामना दिएका थिए। कार्कीले भने आफूलाई स्रोताले नबिर्सिऊन् भनेर एल्बम प्रकाशन गरेको बताए। ‘संगीतको बजार त राम्रो छैन। तर, स्रोताले आनन्द कार्की संगीत क्षेत्रबाट हराएको छैन भनून् भनेर एल्बम प्रकाशन गरेको हुँ’ –उनले भने। कार्की केही दिनमा नै विदेशतिरको सांगीतिक भ्रमणमा जाने तयारीमा छन् भने अर्को एल्बम पनि छिट्टै बजारमा ल्याउने तयारीमा जुटेका छन्।

कार्यक्रममा एल्बममा रहेको गए जाला ज्यान र अचेल तिमी बोलको गीतको म्युजिक भिडियो देखाइएको थियो भने बजारमा ल्याउन बाँकी एल्बमको आउँदै छु प्रिय बोलको गीतको भिडियो पनि देखाइएको थियो। कार्कीले एल्बममा गए जाला ज्यान, नयाँ–नयाँ नौलो–नौलो, बेखबर बेखबर, अचेल तिमी, मौनतामा, म राजी भए, र तिमी गयौ समुद्रपारि गरी ७ नयाँ गीत संग्रहित छन् भने पुरानै गीत यी हल्लाहरू हुन् बोलको गीतलाई रिमेक भर्सनमा सुन्न पाइन्छ।
नेपाल समाचार पत्र बाट उस्तै