मुकुन र मेनुकाको ‘गणपति’ को पहिलो गीत सार्वजनिक



काठमाडौं। आगामी जेठ ५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । ‘गाढा भैदियो’ बोलको गीत छोटो भर्सनमा रिलिज गरिएको हो । सार्वजनिक गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए ।

निर्देशक अधिकारीको नै शब्द रचना तथा संगीत रहेको चलचित्रको सार्वजनिक गीतमा अनिश अधिकारी र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको दुई जीवन काललाई देखाइएको छ ।

‘गणपति’ ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने चलचित्रको कथासार रहेको निर्माण टिमले जनाएको छ ।

चलचित्रमा मुकुन र मेनुकाको अलवा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मसको ब्यानरमा नर्माण भएको चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।