प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा


 


काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म अमाजोन प्राइममा रिलिज हुने भएको छ। केहि समय अघि ‘गोर्खा : बिनिथ द ब्रेभरी’ नाममा प्रदर्शनमा आएको चलचित्र अब ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट रिलिज हुन लागेको हो। अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एस.एन.आर.फिल्म्स ले चलचित्रको वितरण गर्दैछ। अमेरिकन डिस्ट्रिब्युसन कम्पनी एस.एन.आर.फिल्म्स ले चलचित्रको वितरण गर्दैछ। ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइम अमेरिकामा मे २ बाट रिलिज हुँदैछ। अनि त्यस पश्चात युके,अस्ट्रेलिया,दक्षीण कोरिया र जापानमा रिलिज गरिने निर्माण पक्षले जानकारी गराएको छ ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेर यो चलचित्र निर्माण भएको हो । प्रदीप शाहीको पहिलो निर्देशकीय चलचित्रमा आत्म–त्याग, करुणा र मित्रताको कथा बोकेको उनको कथन छ । यो चलचित्रको सम्पूर्ण छायाँकन बेलायतमा गरिएको हो ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । उनकै कथालाई यो फिल्ममा देखाईएको छ । त्यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।

चलचित्रको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

यो चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स छ । मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माता हुन् । प्रदीप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तीम संस्कार’ को पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। चलचित्रको छिट्टै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ले बताए।