‘बुलाकी’को प्रिमियर, कर्णालीको कथालाई सकारात्मक प्रतिक्रिया



काठमाडौँ। बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । बुधवार बेलुकी आयोजित शोमा चलचित्र हेर्न पुगेका चलचित्रकर्मी र पत्रकारले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई प्रशंसा गरे ।

चलचित्रले प्रिमियरमा पाएको प्रतिक्रियाबाट निर्माता उत्साहित छन् । चलचित्र हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले चलचित्रमा प्रस्तुत गरेको बताए ।

अभिनेत्री नीता ढुंगानाले चलचित्र हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । यस्तै, कलाकार हरिहर अधिकारीले पनि नेपाली चलचित्रमा यस्ता कथा भन्न आवश्यक रहेको सुनाए ।

कलाकार गजित बिष्ट, राज कटुवाल लगायतले पनि चलचित्रले पुरा समय बाँधेर राखेको सुनाए । चलचित्रमा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । चलचित्र क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ ।

नायिका सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । चलचित्रउनकै कथा वरिपरी घुमेको छ । नव कलाकार विराज बिष्टको अभिनयले पनि चलचित्रमा दर्शकलाई फरक अनुभुती गराउँछ ।

नव निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए । चलचित्र हेर्नका लागि निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, नायक पुष्प खड्का, कलाकार प्रसान्त ताम्राकार, हरिष निरौला लगायत पुगेका थिए ।