‘प्रेमा’ चरित्र शान्त र सरल छिन् : शुभेक्षा खड्का



काठमाडौं। आगामी शुक्रबार अर्थात चैत १७ गतेबाट अभिनेत्री शुभेक्षा खड्का अभिनित दोस्रो चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउंदै छ । गोविन्दसिंह भण्डारीको चलचित्र ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी खड्का गोविन्दकै निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रेमा’मा शीर्ष चरित्रमा देखिँदैछिन् ।

शुभेक्षाको बुझाईमा ‘प्रेमा’ चरित्र शान्त र सरल छिन् । ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ । सिनेमा हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुपमा पाउँछन् । प्रेमा मिठो खालको कथा हो । सिनेमा कलरफूल र साधारण बनेको छ’, उनी भन्छिन् ।

चलचित्र ‘प्रेमा’ उनकै भनाईमा दर्शकका लागि ‘सरप्राइज प्रेमकथा’ हो । ‘ट्रेलर रिलिज भएपछि आम मानिसमा चलचित्र प्रतिको जुन चासो छ, त्यो चासो नै चलचित्रको ‘सरप्राइजिङ’ कुरा हो । जुन कुरा कसैले सोचेको छैन’, उनी भन्छिन्, ‘त्यो सरप्राइजिङ फ्याक्टर देखेपछि दर्शकले कसरी रियाक्ट गर्नुहुन्छ भन्ने कुरामा उत्साहित छु ।’

निर्देशक गोविन्द वास्तविक जीवनमा एक महिलाबाट प्रभावित भएर चलचित्रको कथा तयार पारेको बताउँछन् । ‘वास्तविक प्रेमाको चरित्रलाई लिएर सिनेमा बनाउन मन थियो । त्यो चरित्रलाई यसमा पुरा गरेको छु । सिनेमामा दर्शकले नयाँ शैलीको प्रेमकथा पाउनुहुनेछ’, गोविन्द भन्छन्, ‘प्रेमा साउथ सिनेमामा धेरै प्रयोग हुने शब्द हो । हामी नेपालमा ‘माया’ भनेजस्तै साउथमा प्रेमा बढी प्रयोग हुन्छ । प्रेमा चरित्र सकारात्मक छ र उसको काम गर्ने शैली पनि राम्रो छ ।’

चलचित्रमा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन् । सिनेमा ‘ज्याकीः आइ एम ट्वान्टी वान’बाट अभिनयमा डेब्यू गरेका अरुणको चलचित्र ‘महापुरुष’ले रिलिज भएर पनि सफलताको स्वाद चाखिसकेको छ । ‘महापुरुष’ले सफलता पाए पनि आफूलाई कुनै दबाब अनुभव नभएको अरुण बताउँछन् ।

‘मलाई दबाब छैन किनभने सिनेमा राम्रो बन्न निर्देशक, स्क्रिप्ट र कलाकार राम्रो हुनुपर्छ । प्रेमामा दर्शकले सबै कुरा पाउँछन् । सिनेमाले राम्रो गर्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु,’अरुण भन्छन्, ‘मुख्य कुरा दबाब लिने कि नलिने भन्ने हुन्छ । यो दबाब केका लागि लिने भन्ने हो । नराम्रो काम गरेको छु भने डर लाग्छ । राम्रो टिमसँग आबद्ध छु । त्यसकारण दबाब लिएको छैन ।’

सिनेमा गोविन्द र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्माता घिमिरे ‘प्रेमा’को स्क्रिप्ट मन परेर आफूले लगानी गरेको बताउँछन् । ‘मैले प्रेमामा राम्रो कथा पाएँ । पहिलोपटक स्क्रिप्ट पढ्दा म त दंग परेँ । मैले एक घण्टामा नै स्क्रिप्ट पढेँ । त्यसपछि ३,४ पटक पढेँ’, विवेक सुनाउँछन्,‘यो स्क्रिप्टमा हरेक दृश्यमा निर्देशकको डिटेलिङ शैली छ । त्यसले मलाई तान्यो ।’ उनले आफूले सिनेमामा स्क्रिप्टको ९९ प्रतिशत कुरा पाएको दाबी गरे ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित सिनेमामा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ । सिनेमामा सामर्थ विक्रम थापाको कार्यकारी निर्माण छ । सिनेमा तामिल, तेलुगु र हिन्दी भर्सनमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.