राजु र मेलिनाको स्वरमा फेरी रेकर्ड भयो ‘झरनाको चिसो पानी’ (भिडियो )



काठमाडौँ। ‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।

दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा सार्वजनिक गरिएको छ । सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतमा संगीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।

गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको संगीत रहेको छ । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ ।

‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ ।

कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर भिडियो बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले छायांकन र मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् ।