चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त



काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । चलचित्रको शुभमुहूर्त समारोहमा चलचित्रका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, वर्षा सिवाकोटीको अभिनय रहनेछ।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर सिनेमा बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई सिनेमामा प्रस्तुत गरिने बताइएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.