फोटो पत्रकार श्रीधर पौडेलको फरक कथामा बनेको ‘बहाव’



काठमाडौं । नेपालमा पछिल्लो समयमा सञ्चारकर्मबाट फिल्म लेखन, निर्माण र निर्देशनमा आउने सञ्चारकर्मी तथा पत्रकारको सूची लामै छ । यो सूचीमा निर्माता श्रीधर पौडेल पनि पर्छन् । फिल्म ‘गोपी’मार्फत फिल्म निर्माणमा हात हालेका श्रीधरको दोस्रो फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिजको तयारीमा छ ।

निर्माता श्रीधरले एबीसी टेलिभिजन, नयाँपत्रिका, कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र शुक्रबार साप्ताहिकलगायतका विभिन्न पत्रपत्रिकामा फोटोपत्रकारिता विधामा लामो अनुभव संगालिसकेका छन् । उनले करिब सय बढी नेपाली फिल्मको पोस्टर फोटोग्राफी पनि गरिसकेका छन् ।

फिल्म ‘बहाव’ले ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई प्रमुख विषय बनाएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

निर्माता श्रीधरका अनुसार लकडाउनको समयमा निर्देशक कँडेलले उनलाई यो फिल्मको कथा दिएका थिए । ‘स्क्रिप्ट मैले पढेपछि कथा फरक लाग्यो । किनकी मैले यसअघि फरक कथाको गोपी पनि बनाएको थिएँ । त्यहीकारण बहावको कथाले मलाई छोयो’, उनले भने, ‘फिल्ममा हामीले सुरक्षालाई अहिलेसम्मका फिल्मभन्दा केही फरक रुपमा प्रस्तुत गरेका छौं । उनको प्रेमी, विद्रोही र पागलपन भावले दर्शकलाई प्रभावित पार्नेमा म ढुक्क छु ।’

श्रीधरले निर्माण गरेको फिल्म ‘गोपी’ नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त गरिसकेको छ । पहिलो फिल्म निर्माणताका आफूले सिकेका कुरालाई फिल्म ‘बहाव’मा प्रस्तुत गरेको उनी सुनाउँछन् । ‘फिल्मको महत्वपूर्ण पाटो त्यसको कथा हो । बहावको कथा अनुसार नै चरित्र पनि छनोट गरेका छौं’, श्रीधर भन्छन् ।

फिल्म सुटिङका लागि चितवन जाने तयारीमा रहँदा श्रीधर अस्वस्थ भए । आफू अस्वस्थ भए पनि उनले आफ्नो कारण फिल्मको काम रोक्न चाहेनन् । उनले निर्देशक प्रमोदलाई पूर्ण विश्वास गरेर सबै कामको जिम्मेवारी दिएका थिए ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्ममा सुरक्षा र कमलसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।

फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.