बक्स अफिसमा ‘फूलबारी’ ले बहार ल्याउने अपेक्षा



काठमाडौं। महाशिवरात्रीको पूर्व सन्ध्या पारेर यही फागुन ५ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘फूलबारी’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ ।

काठमाडौंलक्षित मल्टिप्लेक्समा यो फिल्मले ३५.२९ प्रतिशत शो पाएको छ, जुन औसत हो । बलिउडको शहजादा तथा हलिउडको एन्ट–म्यान एण्ड द वास्पः क्वान्टुमेनियासंगको प्रतिस्पर्धाका कारण मल्टिस्टारर ‘फूलबारी’ ले उल्लेख्य शो पाउन सकेको छैन ।

यद्यपि, प्राप्त शो संख्या कमजोर भने होइन । फिल्मले सकारात्मक प्रतिक्रिया पाएको खण्डमा महाशिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको विदामा शो बढ्न सक्ने सम्भावना छ । रामबाबुको पछिल्लो फिल्म ‘कबड्डी ४’ ले ८८.७५ प्रतिशत शो पाएको थियो । जुन यस वर्ष रिलिज नेपाली फिल्मको हकमा सर्वाधिक हो ।

‘फूलबारी’ ले क्युएफएक्स चेनमा २९ शो पाएको छ । यस्तै अन्य चेन आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा ७ शो पाएको छ । बिग मुभिजमा ६ शो पाएको यो फिल्मलाई रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो दिएका छन् । यस्तै एफक्युब र किर्तिपुर सिनेप्लेक्समा समान ३–३ शो पाएको छ ।

यो सामाग्री तयार पार्दासम्म क्युज र सिडिसी भने शो खोल्ने प्रक्रियामा छन् । पारिवारिक कथामा निर्मित यो फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको फिल्ममा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।

सफल निर्देशक, लोकप्रिय कलाकार, पारिवारिक कथा, सार्वजनिक विदा, ट्रेलर तथा संगीतको हाइप यो फिल्म चल्ने मुख्य आधारहरु हुन् । ‘महापुरुष’ यता सुख्खा रहेको बक्स अफिसलाई ‘फूलबारी’ ले हरियाली ल्याउने अपेक्षा गरिएको छ ।