१० बर्ष पछि अभिनयमा फर्कंदै अभिनेता राजबल्लभ



काठमाडौँ। सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’ बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’ मा देखापरेका उनी झण्डै १० वर्षपश्चात अभिनय क्षेत्रमा फर्केका छन् । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्णमध्येको एक हो”, अभिनेता कोइरालाले भने, “मेरो छायांकन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।”

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । “हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ”, उनले भने, “यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ ।”

अभिनेता कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुनेगर्छ । उनले सात वर्षमा सत्ताइस चलचित्रमा अभिनय गरेका छन् ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले बताए । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.