‘कुटुमा कुटु’देखि ‘पिरिम नलाउने’सम्म : यी हुन् सर्वाधिक हेरिएका चार नेपाली गीत


गायक आशिष सचिन र गायिका मेलिना राईको स्वरमा चार वर्षअघि सार्वजनिक ‘पिरिम नलाउने’ गीतले केही दिनअघि युट्युबमा १० करोड भ्युज पारे गर्यो । यो गीतको भ्युज शुक्रवार साँझसम्म १० करोड १ लाख ४० हजार प्लस पुगिसकेको छ ।


दीपक शर्माको शब्द, संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको भिडियोमा गायक आशिष सचिन र अभिनेत्री वर्षा राउतको अभिनय एवं नृत्य छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका थिए ।

१० करोड प्लस भ्युज यसअघि अन्य तीन वटा नेपाली गीतले पाइसकेका थिए । जसमध्ये युट्युबमा सर्वाधिक भ्युज पाउने नेपाली गीत भने ‘कुटुमा कुटु’ हो । यो गीतले अहिलेसम्म १८ करोड ३५ लाख प्लस भ्युज पाउँदै सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड कायम गरेको हो ।

राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको यो चलचित्र ‘दुई रुपैयाँ’मा समावेश गीत हो । राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको यस गीतमा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् ।

उनका साथमा चलचित्रका मुख्य कलाकारहरू निश्चल बस्नेत, असिफ शाह र बुद्धि तामाङ पनि भिडियोमा प्रस्तुत छन् । सार्वजनिक भएको छोटो समयमै करोड भ्युज पाएको गीतको लोकप्रियता त्यसयताका दिनमा पनि निरन्तर उस्तै छ । गीत विवाह, पार्टी, पिकनिकमा सदाबहार रुपमा बज्ने गरेको छ ।

दोस्रो सर्वाधिक भ्युज पाउने नेपाली गीत भने गायिका टिका प्रसाईँको ‘माया लुकी लुकी’हो । ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको गीत चार वर्षअघि सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै गीतले निकै चर्चा पाएको थियो । आजसम्म पनि गीतको चर्चा उस्तै छ । यो गीतले अहिले १३ करोड ४२ लाख प्लस भ्युज पाइसकेको छ ।

आनन्द अधिकारीको शब्द रहेको यस गीतलाई आशिष अविरलले कम्पोज एवं एरेन्ज गरेका हुन् । ‘द कार्टुन क्रु’का सरोज अधिकारीको निर्देशन रहेको भिडियो गायिकाको अफिसियल ‘टिका प्रसाईँ’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

१० करोड बढी भ्युज पाएको अर्को नेपाली गीत हो, ‘साली मन पर्यो’ । निश्चित बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको यस गीतले हालसालै युट्युबमा १० करोड प्लस भ्युज प्राप्त गरेको हो । ‘घामड शेरे’ चलचित्रमा समावेश यस गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर छ ।


कालीप्रसादकै शब्द, रिकेश गुरुङको एरेन्ज रहेको यो गीत तीन वर्षअघि युट्युबमा सार्वजनिक गरिएको थियो । अहिले गीतको भ्युज १० करोड ४२ लाख पार भइसकेको छ ।

१० करोड भ्युज नजिक भने थुप्रै गीतहरू छन् । ‘फुलबुट्टे सारी’, ‘कसरी कसरी २’, ‘माया विरानी’, ‘गोजीमा दाम छैन’, ‘नाच फिरिरि’ लगायतका गीतहरुले लोभलाग्दो भ्युज पाएका छन् ।

लोकदोहोरीमा भने अहिलेसम्म सर्वाधिक भ्युज पाउने गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको ‘सालको पातको टपरी’ छ ।