सिनेमा हल नभएका गाउँहरुमा घुम्ती सिनेमा कार्यक्रम सम्पन्न



काठमाडौँ। पूर्वि नेपालका पहाडी जिल्लाहरु ईलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिएको छ । मिति २०७९ माघ १२ देखि १८ गतेसम्म ति जिल्लाहरुका चलचित्र भवनहरुको सुविधा नभएका क्षेत्रमा चलचित्र प्रदर्शन गर्नका लागि सामुदायिक भवन नभएका स्थानहरुमा रहेका खुल्ला स्थानहरुलाई अस्थायी रुपमा सिनेमा हलको स्वरुप तयार गरी चलचित्र प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । साथै, विद्यालय बाहेकका अन्य स्थानहरुमा स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधिहरु, व्यसायी, राष्ट्रसेवक कर्मचारीहरु लगायतको बाक्लो उपस्थितिमा चलचित्र प्रदर्शन गरी चलचित्रका बारेमा जागरण ल्याउन र चलचित्र हेर्न प्रोत्साहन गर्ने लगायतका विषयमा छलफल समेत गरिएको थियो ।

घुम्ती सिनेमा अभियान कार्यक्रममा सम्बन्धित गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डका अधिकृत श्री हरिसिंह रैखोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक अभियन्ता तथा चलचित्र “अग्नीदहन” का निर्माता कोविदशरण उपाध्याय र स्थानीय सहजकर्ता तथा लिम्बु चलचित्रकर्मी संघका अध्यक्ष एवं चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति, मातृभाषी प्रवर्द्धन समितिका पूर्व संयोजक सूर्यप्रकाश चेम्जोङ्गले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो भने बोर्डको तर्फबाट अभियानका बारेमा चलचित्र विकास बोर्डका अधिकृत गिरीश शर्माले जानकारी गराउनु भएको थियो ।

सातै प्रदेशमा रहेका चलचित्र घरहरु नभएका स्थानिय निकाय, वडा, गाँउपालिका, नगरपालिका, टोल बस्तीहरुमा राष्ट्रियता माथी निर्माण बिशेष प्रकारका चलचित्रहरु घुम्ती सिनेमा मार्फत स्कूल, कलेज तथा समुदायहरु प्रदर्शन गरी स्वदेशी चलचित्र क्षेत्रको विकास, विस्तार र सम्वर्द्धन गर्ने कार्यक्रम अन्तर्गत घुम्ती सिनेमा संचालन गरिएको हो । यो कार्यक्रम नेपाल सरकारको चालु आर्थिक वर्ष २०७९।८० को स्वीकृत “घुम्ती सिनेमा वा क्लबमार्फत शैक्षिक संस्थाहरुमा समेत गरी सातै प्रदेशमा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने” अन्तर्गत रहेको छ ।

सिनेमाघरको पहुँच भन्दा टाढा रहेका शहर, बस्ती र समुदायमा पुगी नेपाली राष्ट्रिय भाषा र स्थानिय भाषामा निर्माण भएका चलचित्रहरुको प्रदर्शन गरी नेपाली सिनेमा हेर्ने संस्कृतिको विकास गर्नु, चलचित्र निर्माण, प्रदर्शनमा सुधार गर्नु पर्ने सुझावहरु ग्रामिण क्षेत्रबाटै संकलन गर्नु, सिनेमा घर नभएका स्थानहरुमा राष्ट्रिय चलचित्र बजारिकरण र सिनेमा साक्षरता विषयमा आम नागरिकलाई सु–सुचित गर्नु, नेपाल भित्रै आफ्नो पहिचान खोजी रहेको नेपाली सिनेमा प्रति सकारात्मक भावना उत्पन्न गराउनु, नेपाली चलचित्रको प्रतिष्ठा बढाउनु, चलचित्रका संवाहकहरुको खोजी गर्दै तिनिहरुको क्षमता विकास गर्नु, चलचित्र घरहरु बाहेक अन्यन्त्र छरिएर रहेका दर्शकहरु लाई चलचित्र सम्बन्धित ज्ञानको उत्प्रेरणामा सहयोग पुऱ्याउनु, चलचित्र क्षेत्रलाई देशव्यापी रुपमा जागृत गराउन प्रोत्साहन गर्ने, चलचित्र क्षेत्रमा समर्पित भएका र हुन चाहने स्रस्टा, सर्जक एवं विद्यार्थीहरुलाई घुम्ती सिनेमा मार्फत प्रोत्साहन गर्ने, चलचित्रको माध्यमबाट विभिन्न जातजातिकामा रहेको भाषा, कला, धर्म, सँस्कृति आदि को बारेमा जान्ने अवसर दिनु, आर्थिक, सामाजिक, साँस्कृतिक, कलात्मक रुपमा चलचित्र क्षेत्रलाई थप सशक्त बनाउन मद्दत पुर्‍याउनु लगायतका उद्देश्यहरु यस कार्यक्रम अन्तर्गत रहेका छन् ।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका, देउराली बजारमा रहेको सामुदायिक भवन, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, घुर्बेसी पञ्चमी बजार स्थित घुर्बेसी पञ्चमी माध्यमिक विद्यालय र शान्ति बाल विकास बोर्डिङ्ग स्कूल र घुर्बेसी पञ्चमी बजारमा रहेको टहरा तथा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका, फुङलिङ बजारस्थित, जिल्ला समन्वय समितिमा रहेको सिटी हलमा नेपाली चलचित्रहरु ‘अग्नीदहन’, ‘कृ’ र ‘क्याप्टेन’ प्रदर्शन गरिएको थियो ।

चलचित्र हेरेका दर्शक, विद्यार्थी, शिक्षक, अभिभावकहरुले चलचित्रले मनोरञ्जन मात्र प्रदान नगरी समाज रुपान्तरण, सामाजिक चेतना,शिक्षा र सन्देश समेत प्रवाह गर्ने माध्यम समेत रहेको प्रतिक्रिया दिनुभएको थियो ।