‘हेभिवेट’ भिडन्त : ‘छक्का पञ्जा ४’ र ‘छड्के २’मा कुनको हाइप कति ?



काठमाडौं । आगामी फागुनको १९ गते ‘हेभिवेट’ नेपाली चलचित्रबीच भिडन्त हुने तय छ । अबको एक महिनापछिको उक्त दिन ठूला व्यानरका चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ र निगम श्रेष्ठ निर्देशित एवं अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ लगायतका चलचित्र उक्त मितिमा प्रदर्शनमा आउँदैछन् ।

ब्राण्ड बनिसकेको ‘छक्का पञ्जा’ टिमको चलचित्र र युवास्टार अनमोलको चलचित्र एकैमितिमा प्रदर्शनमा आउने हुँदा धेरैको ध्यान खिचेको छ । यी दुबै चलचित्रले दर्शकमाझ राम्रो हाइप बनाएका छन् । यी चलचित्रका प्रचार सामाग्रीले पाएको भ्युजका आधारमा उक्त कुराको आँकलन गर्न सकिन्छ ।

पाँच दिनअघि चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको थियो, जसले बुधवार बेलुकासम्म १५ लाख २५ हजार प्लस भ्युज पाइसकेको छ । टिजरलाई प्रतिक्रियाहरु पनि राम्रो आइरहेका छन् । यति छोटो समयमा चलचित्रको टिजरले उक्त भ्युज पाउनुलाई राम्रो मान्न सकिन्छ । यसले के कुराको आँकलन गर्न मद्धत गर्छ भने ‘छड्के २’ प्रति दर्शकको प्रतिक्षा व्यग्र छ ।

यता, गत सोमबार बेलुका मात्रै चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरियो । यो गीतले पनि युट्युबमा निकै राम्रो भ्युज पाईरहेको छ । दुई दिनमै गीतको भ्युज झण्डै १२ लाख पुगिसकेको छ । बुधवार बेलुका गीत युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा छ ।

यता ‘छड्के २’को टिजर पनि युट्युब ट्रेन्डिङको चौथो नम्बरमा छ ।

पछिल्लो समय युट्युबमा चलचित्रको टिजर, ट्रेलर र गीत लगायतको औसत भ्युज घटिरहेको अवस्थामा यी दुबै चलचित्रको प्रचार सामाग्रीले छोटो समयमै पाएको भ्युज निकै लोभलाग्दो हो । यसले दुबै चलचित्रको हाइपलाई मापन गर्न सघाउँछ ।

दुवै चलचित्रको राम्रो हाइप देखिएपनि आशा गरिएका चलचित्रहरु एउटै मितिमा आउँदाको असर दुवै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा मुख्यतः चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ । त्यसपछाडिको व्यापार भने दर्शकको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।