‘छक्का पञ्जा ४’ फिल्मको पहिलो गीत सार्वजनिक



दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

निर्माण टिमले सोमवार सार्वजनिक गरेको ‘दर्शन सलाम’ बोलको गीतमा ‘छक्का पञ्जा ४’का कलाकारसँगै अभिनेत्री स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ । गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, निर्मल शर्मा लगायतलाई प्रस्तुत गरिएको छ ।

डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको यो गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ । कविराज गहतराजको कोरियोग्राफीमा गीतको भिडियो तयार भएको हो । भिडियोमा चुनावको सन्दर्भ र परिवेश समेटिएको छ । अभिनेता दीपकराज गिरी गाउँले नेताको भूमिकामा छन् । यसबाट चलचित्रको मुख्य विषयवस्तु राजनीति रहेको अनुमान लगाउन सकिन्छ ।

यस वर्षको प्रतीक्षित चलचित्रका रुपमा हेरिएको ‘छक्का पञ्जा ४’ फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दीपकराजकै कथा एवं लेखन छ ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा समेत छन् । दिपेन्द्र खनिया र केशव न्यौपाने चलचित्रका निर्माता हुन् । अभिनेत्रीद्धय वेनिशा हमाल र मलिना जोशीको समेत चलचित्रमा अभिनय छ ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुति, नरेन्द्र मैनालीको डिओपी रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गर्दैछन् ।