दुई दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न



काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा संचालित कार्यशालामा काठमाडौँ र काठमाडौँ बाहिरका सय बढी पत्रकारले सहभागीता जनाएका थिए ।

काठमाडौँ स्थित चलचित्र विकास बोर्डको हलमा संचालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, बिकास रौनियार, के.पि. ढुंगाना, बिष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले पत्रकार आचारसंहिता, समाचार लेखन शैली, चलचित्र पत्रकारिताको इतिहास, विश्च सिनेमाको इतिहास, फोटोपत्रकारिता, साइबर क्राईम, भिडियो कथ्य शैली, प्रस्तोता तथा चलचित्र पत्रकारिताको महत्व लगायतका शिर्षकहरुमा कक्षा संचालक भएका थिए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले कार्यशालाको क्रममा यसको महत्वबारे चर्चा गरे । “अहिले विधागत पत्रकारितामा चलचित्र पत्रकरितामा समस्या पनि उत्तिकै सुनिन्छन्”, उनले भने,“यस्ता कार्यशालाले स्वनियमन गर्न मदत गर्छ ।”

संचारकर्मी, लेखक तथा निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहासबारे चर्चा गर्दै समीक्षा गर्न चलचित्र बुझ्नु आवश्यक रहेको बताए । “कथा भन्ने शैलीमा परिवर्तन आइरहेका छन् । त्यसैले मेकर्सझैँ समीक्षक पनि चनाखो हुनु जरुरी छ”, उनले भने ।

फोटोपत्रकार बिकास रौनियारले चलचित्र पत्रकारितामा फोटोको प्रमुख भुमिका रहने बताउँदै यसका आधारभुत मापदण्डहरु पालना गर्नुपर्ने बताए । छायाँकार बिष्णु कल्पितले भिडियोको भाषा र यसको बुझाईबारे प्रष्ट पारेका थिए ।

पत्रकार के.पि. ढुंगानाले पत्रकार हुँ भन्दैमा गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गल्ती गर्ने सबैले कारबाहीको भागिदार बन्नुपर्ने बताए । पत्रकार नरेश भट्टराईले प्रस्तोताहरु पनि पत्रकार नै भएको बताउँदै यसको स्कोपका बारे चर्चा गरे । पत्रकारहरु शान्तिप्रिय, बिदुर गिरी, बिजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र विधाको पत्रकारिताको महत्वबारे चर्चा गरेका थिए ।

शनिबार नै आयोजना गरिएको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र पत्रकारहरु चलचित्र क्षेत्रकै महत्वपूर्ण अंग रहेको बताउँदै नीतिगत रुपमा नै चलचित्र पत्रकारहरुलाई राज्यले विभिन्न सहयोगहरु गर्ने बताए । “नीतिगत रुपमा नै राज्यले चलचित्र पत्रकारहरुलाई चलचित्रकर्मीको रुपमा समेटेको छ । यस क्षेत्रमा योगदान गर्ने पत्रकारहरुलाई सम्मान, पुरस्कार प्रदान गर्नुका साथै चलचित्रकर्मी परिचयपत्र समेत राज्यले प्रदान गर्नसक्छ”, केसीले भने, “यस प्रकारका कार्यशालाहरुले पत्रकारहरुको क्षमतावृद्दीमा प्रत्यक्ष भूमिका खेल्छ । आगामी दिनहरुमा पनि यस प्रकारका कार्यक्रमहरुको अपेक्षा राखेको छु र सहकार्यको लागि बोर्ड सदैव तयार छ ।” केसीले सत्यतथ्यमा आधारित पत्रकारिता गर्दै चलचित्र क्षेत्रका जटिलतालाई न्युनिकरण गर्न तथा नेपाली चलचित्रलाई अन्तराष्ट्रियस्तरमा प्रबर्द्धनमा गर्न सहयोग गर्न आग्रह गरे ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाले कार्यशालामा सिकेका कुराहरुले चलचित्र पत्रकारिताको कर्म गर्न सहयोगी भूमिका खेल्ने बिश्वास लिएको बताए । “सिकाईको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो । हामीले छोटो अवधिमा पनि सकेसम्म धेरै बिषयमा ज्ञान र सिप प्राप्ती होस् भन्ने उद्देश्य राखेका थियौँ, जसमा हामी सफल रहेका छौँ”, सिटौलाले भने, “संघको सैद्दान्तिक मुल्य मान्यतालाई आत्मसात गर्दै र डिजिटल प्रविधिको भरपुर प्रयोगमा अबको पत्रकारिता अघि बढ्छ भन्ने बिश्वास लिएका छौँ ।”