‘भष्मे डन’ चलचित्रमा स्वस्तिमा फाइनल



काठमाडौं । निर्देशक दीपेन्द के. खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौता भएको हो ।चलचित्रलाई दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् ।

स्वस्तिमा चलचित्रमा विपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन् ।चलचित्रमा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ ।

सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिएका छन् । ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो ।

‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने चलचित्रको पर्दामा देखिने छैनन् ।

‘पशुपति प्रसाद’मा पशुपति नामक पात्र मरेपछि चलचित्र सकिएको थियो । ‘पशुपति प्रसाद’मा विपिनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो । चलचित्रको कथा खगेन्द्र लामिछानेले लेखेका छन् ।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर चलचित्रको छायांकन हुनेछ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । चलचित्र घोषणा भएदेखि नै दर्शकमाझ प्रतीक्षित छ ।

यस चलचित्रलाई आगामी दशैंमा रिलिज गर्ने योजना निर्माण टिमको छ ।