पल शाहलाई लिएर ‘ओ सजन’ चलचित्र बन्ने, लिइयो निर्माण इजाजत



काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

पललाई प्रमुख भूमिकामा लिने योजनासहित एक चलचित्र निर्माताले शुक्रबार चलचित्र विकास बोर्डबाट चलचित्र निर्माणको इजाजतपत्र लिएका हुन् । राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ निर्माणको अनुमति लिएको हो ।

पलसहित कविता राय र आरएल लामा कलाकारको रुपमा उल्लेख गर्दै इजाजत लिइएको चलचित्रको लेखक एवं निर्देशकमा शिवम अधिकारी रहेका छन् ।

पल र कविताले थारू गीत ‘ओ सजन’ र ‘ओ सजन २’मा सहकार्य गरेका थिए । सोही गीतको नाम सापटी लिएर चलचित्र निर्माण हुन लागेको हो । चलचित्र निर्माण गर्दा लाग्ने प्रस्तावित अवधि ३ वर्ष उल्लेख गरिएको छ । चलचित्रको कुल अनुमानित लागत १ करोड रूपैयाँ तोकिएको छ ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको छ ।

तनहुँ जिल्ला अदालतले पलको फैसला सुनाउन बाँकी छ । नवलपुर अदालतको फैसलालाई चुनौति दिँदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । अदालतबाट फैसला नआउँदै निर्माताले उनलाई लिएर चलचित्र बनाउन अनुमति लिएका हुन् ।

तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ ।