‘तिम्रो मेरो साथ’को शीर्ष गीतमा रोमान्टिक पुष्प र साम्राज्ञी



काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । बुधवार सार्वजनिक ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा फिल्मका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

फिल्मको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निक्कै अपेक्षा राखेको छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञीसँगै इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

पुष्प र साम्राज्ञीले ‘मारुनी’पछि यस फिल्ममा सहकार्य गरेका हुन् ।