‘परदेशी २’ फागुनबाट पछि सरेको हो ?



काठमाडौं । दशैंलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरिएको फिल्म हो, ‘परदेशी २’ । यद्यपि, दशैंमा फिल्मको भीड्भाड भएको भन्दै फागुन ५ गतेका लागि ‘परदेशी २’को नयाँ प्रदर्शन मिति तोकियो ।

‘परदेशी २’ले फागुन ५ रोज्दा उक्त मितिमा कुनै पनि फिल्मले प्रदर्शन मिति तोकिसकेका थिएनन् । पछि उक्त मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टू पेरिस’ले पनि प्रदर्शन मिति तोक्यो ।

त्यसपछि अर्को रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ले पनि प्रदर्शनमा लागि उक्त मिति रोज्यो ।

अन्ततः उक्त मितिबाट साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टू पेरिस’पछि सरेको छ । अब, ‘परदेशी २’ पनि उक्त मितिमा प्रदर्शनमा नआउने हल्ला फिल्मवृत्तमा छ । निर्माण टिमले फिल्मलाई अब अर्को वर्ष मात्रै प्रदर्शनमा ल्याउने योजना बनाइरहेको विशेष स्रोत बताउँछ । केही दृश्यहरु पुनः छायाँकन गर्ने र फिल्म आगामी वर्ष मात्रै रिलिज गर्ने सोँचमा निर्माण टिम पुगेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार आगामी वर्षको तीज अर्थात दशैंमा फिल्म प्रदर्शनमा ल्याउनेगरी छलफल गरिएको छ । ‘चित्त नबुझेको पार्टहरु पुनः सुटिङ गर्ने र रिलिज फागुनबाट पछि सार्ने कि भन्ने छलफल भएको छ’ टिमभित्रका एक सदस्य भन्छन्, –‘तर निर्णयमै पुगिसकेको चाहीँ होइन् ।’

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीको मुख्य भूमिका छ । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर फिल्मको निर्माण गरेका हुन् । फिल्मको कथा भने रमेश बिजीले लेखेका हुन् ।

‘परदेशी २’ फागुन ५ बाट पछि सरेको खण्डमा ‘फूलबारी’ सोलो रिलिज हुनेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.