‘डिसेम्बर फल्स’को नयाँ गीत : ‘यो के भयो’मा आर्यन र उपासनाको प्रेमभाव



आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभावलाई व्यक्त गरिएको छ । यस प्रेमगीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले आर्यन र उपासना दुबैलाई रोमान्टिक रुपमा प्रस्तुत गरेका छन् । सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमको संगीत रहेको ‘यो के भयो’ गीतमा अस्मिता अधिकारी र मनिष ढकालले स्वर दिएका हुन् । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् ।

आर्यन र उपासनाका साथमा फिल्ममा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् । ‘डिसेम्बर फल्स’ आर्यन र उपासनाको पहिलो सहकार्य हो । फिल्मको पोष्टर, टिजर, गीत र ट्रेलरलाई दर्शकहरुले रुचाएका छन् ।

‘म्युजिक डट कम’युट्युब च्यानलमार्फत सार्वजनिक ‘यो के भयो’ले पनि दर्शकको माया पाउने विश्वास निर्माण टिमको छ ।