शोभितको ‘जय हो’ फिल्मलाई टेक पौरखीले निर्देशन गर्ने



निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा निर्देशक फाइनल भएका छन् । सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्रलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका हुन् ।

सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस् र निर्देशक राईबीच लिखित सम्झौता भएको छ । निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्र÷तस्वीरहरु विश्वव्यापी रुपमा बिक्री हुने गरेका छन् ।

गत महिना रिलिज भएको चलचित्र ‘मिलन’पछि निर्देशक राई र अभिनेता बस्नेतबीच दोस्रोपटक ‘जय हो’मा सहकार्य हुने पक्का भएको हो । माघ अन्तिम सातादेखि छायांकनमा जाने चलचित्रलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।
एक्सन र लभस्टोरी चलचित्रमा सागर आले मगरले संगीत भर्नेछन् । सागर ’नेपाल आइडल – सिजन १’का थर्ड रनरअप हुन् ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारको लगानी रहनेछ । चलचित्रमा रामजी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन् ।