सुरु भयो ‘प्रसाद २’को छायांकन



काठमाडौँ। चलचित्र ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । सुवास थापा चलचित्रका प्रस्तुतकर्ता हुन् ।आज बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए ।

निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।

चलचित्र ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो । चलचित्रको कथावस्तु दउत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङ्खलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले लिएका छन् । चलचित्रको प्रदर्शन मिति छायांकन सकिएपछि तोकिने निर्माणपक्षले बताएको छ । चलचित्रको डिजिटल राइट ओएसआरले खरिद गरेको छ।