प्रकाश सपूतको अर्को एक प्रशंसायोग्य सिर्जना ‘पर–पर छु’


महिनावारी सचेतनाका लागि प्रकाश र केकीको सिर्जनात्मक प्रयास : मार्मिक शब्दलहर, मनछुने भिडियो

‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराईजस्तो भयो मेरो जगत
संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो
जन्मदिने बा–आमाले पानी बार्दिनु भो
आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु’

माथिका शब्दलहर ‘पर–पर छु’ बोलको गीतका हुन् । हिजो (बिहीवार) सार्वजनिक गीतलाई लिएर यतिबेला निकै प्रशंसा भईरहेको छ । गायक एवं सर्जक प्रकाश सपूतले यस गीतका शब्द लेखेका हुन्, उनैले भाका बनाएका हुन् । गीतमा तुलसी बोहोराले स्वर दिएकी हुन् । राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा महिनावारी सचेतनाका लागि यस गीत तयार पारिएको हो ।

प्रकाश लोकसंगीतका एक यस्ता प्रतिभा हुन्, जो अलग–अलग विषयवस्तुलाई गीत–संगीतमार्फत पेश गर्दै आएका छन् । त्यो पनि अत्यन्तै मनछुने तरिकाले । ‘पर–पर छु’ भने सचेतनाका लागि प्रकाशको सिर्जनात्मक प्रयास हो । जसमा उनले एकदमै मनछुने शब्द लेखेका छन् । जुन उत्तिकै मर्मस्पर्शी पनि छन् । उत्तिकै मिठो भाका तयार पारेका छन् । अनि गायिकाले उत्तिकै मिठो तरिकाले गाएकी छिन् । प्रकाशकै कथा एवं निर्देशनमा कथानक तरिकाले गीतको भिडियो तयार पारिएको छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी, प्रकाश सपूत र सेबिता अधिकारीले अभिनय गरेका छन् । किशोरीको भूमिकामा सेबिताले निकै राम्रो अभिनय गरेकी छिन् । गीतको मर्म झल्कनेगरी भिडियो निर्माण गरेका छन् । केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुतीमा तयार गीतको भिडियोमा संवाद केकी र प्रकाशले संयुक्त रुपमा मिलेर तयार पारेका हुन् । केकी र प्रकाशले यसअघि बलात्कारको कथामा निर्मित गीत ‘बदला बरिलै’मा सहकार्य गरेका थिए ।

भिडियोको एक दृश्यमा कलाकार सेबिता अधिकारी । उनले मनछुने अभिनय गरेकी छिन् ।

‘पर–पर छु’ महिनावारीका बेला एउटी किशोरीले भोग्नुपर्ने पीडाको गीत हो । भिडियोमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको कुरालाई समेत प्रस्तुत गरिएको छ । यसलाई प्रकाश सपूतको अर्को एक प्रशंसायोग्य सिर्जना मान्न सकिन्छ । जसको फल प्रकाशले युट्युबमा दर्शकहरुको कमेन्टबाट पाईरहेका छन् । अधिकांशले गीत र प्रकाशको खुलेर प्रशंसा गरेका छन् । भिडियो एक दिनमै ट्रेन्डिङमा उक्लिसकेको छ ।

अमित पोख्रेलले भिडियोको सब टाइटलका लागि अंग्रेजी अनुवाद गरेका छन् । भिडियोमा नवराज उप्रेतीको छायाँकन, प्रबिन भट्टको सम्पादन एवं रंग संयोजन छ । भाग १ भनिएको यस गीतलाई प्रकाशले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उल्लेख भएअनुसार यसको भाग २ पनि आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.