फ्राइडे रिलिज : हलमा लागे ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’



काठमाडौं । आज (शुक्रवार) एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ आजदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज भएका हुन् । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको ‘महापुरुष’पछि कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्था फरक जनरामा यी फिल्मले दर्शक तान्ने अपेक्षा गरिएको छ ।

एक्सन जनराको ‘सोल अफ द कमाण्डो’
दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म हो ‘सोल अफ द कमाण्डो’ । उनी २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गरेका हुन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी पर्दामा देखिएका थिएनन् ।

युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा कमला खापुङ लिम्बू, शेषुका राई, मिलन राई, रवी थापा, अन्जेल राई, शिशिर वाङदेल, नरेन खड्का लगायतको पनि अभिनय छ । मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्मको निर्मातामा मिलन राई, रवी थापा र धन बहादुर लिम्बू छन् । एक्सन जनरामा निर्माण भएको फिल्म २ घण्टा लामो छ ।

सामाजिक कथाको ‘डेसान’
कमल एक्चाई मगरको निर्देशनमा तयार ‘डेसान’ सामाजिक कथामा निर्माण भएको फिल्म हो । फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी लगायतको मुख्य भूमिका छ ।

कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्माण भएको हो । २ घण्टा १० मिनेट लामो फिल्मले पारिवारिक सम्बन्ध, प्रेममा असहमति र सामाजिक न्यायका विषयहरू प्रस्तुत गर्ने बताइएको छ ।