अभिनेता संयम र अभिनेत्री आश्मा विवाह बन्धनमा बाँधिए



काठमाडौं। अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसीले ८ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । शुक्रवार बौद्धस्थित पाँचतारे होटल हायातमा उनीहरुले विवाह गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका संयम र आश्मा विवाहका लागि नेपाल आएका हुन् । उनीहरुको विवाहमा निकट केही चलचित्रकर्मी र आफन्तको मात्रै सहभागीता रहेको थियो । संयम निर्देशक नारायण पुरीका छोरा हुन् । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् ।

संयम र आश्माले पहिलो पटक चलचित्र ‘आभाष’मा एकसाथ काम गरेका थिए । सोही चलचित्रमा काम गर्ने क्रममा उनीहरुबीच प्रेम भएको थियो । संयम र आश्माले सिनेमा ‘नाइँ नभन्नु ल ३’मा पनि एकसाथ काम गरेका छन् । अभिनेत्री आश्मा अमेरिका जानु अगाडि रेखा थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘रामप्यारी’मा अभिनय गरेकी थिइन् ।