‘महापुरुष’ले चार हप्तामा कमायो १० करोड ग्रस,केक काटेर बाँड्यो सफलताको खुसी



काठमाडौं। मह जोडी अभिनित गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ ३१ औं दिनमा प्रदर्शनरत छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को टिमले आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच केक काटेर सफलताको खुसी साटेको छ । निर्माता म्याक्स दिपेश खत्रीले चलचित्रले ३० दिनमा १० करोड १४ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट पनि सार्वजनिक गरे ।

गत शुक्रबारबाट पाँचौं हप्तामा प्रदर्शनरत चलचित्रले ५१औं दिने यात्रा पार गर्ने निर्देशक भट्टराईले विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘व्यापार यस्तो हुनुपर्छ, यति मान्छेले हेर्नुपर्छ, यसको चाहिँ रेकर्ड तोड्नु पर्छ भनेर हामीले चलचित्र निर्माण गरेका थिएनौं । बाआमाले धेरै गर्नुभयो, उहाँहरुका लागि पनि केही गरौं भनेर मनबाट चलचित्र बनाएका थियौं र दर्शकहरुले मन पराइदिनुभयो । हामी खुसी छौं ।’

अहिले नै अब कुन नाममा र कस्तो विषयमा चलचित्र बनाउने भन्ने निर्णय नभइसकेको पनि उनले बताए । प्रदीपले ‘महाजात्रा’ सिनेमा निर्माण हुने सम्भावना भने रहेको धारणा राखे । अब आफूलाई रमाइलोसँगै संवेदनशील विषय पनि मिलाएर प्रस्तुत गर्नुपर्ने चुनौती थपिएकाले त्यो चुनौती जित्ने ठाउँमा पुगेपछि मात्र ‘महाजात्रा’ बन्न सक्ने बताए । उनले ‘महापुरुष २’ बन्न सक्नेतर्फ पनि संकेत गरे ।

निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले चलचित्रले पाएको दर्शकको साथ र प्रतिक्रियाले आफ्नो टिमलाई थप चुनौती थपिएको बताए । त्यस्तै, निर्माता खत्रीले ‘महापुरुष’लाई चिनियाँ भाषामा सबटाइटल गरेर फेस्टिभलमा देखाउने र हिन्दी भाषामा डब गरेर डिजिटल प्लेटफर्ममा रिलिजको योजना बनाएको जानकारी दिए । उनी सिनेमाले प्रदर्शनको ५१औं दिन मनाउनेमा विश्वस्त सुनिए ।

एकल पिताको एक्लोपनको कथामा निर्माण भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय रहेको छ । चलचित्रले अमेरिका, अष्ट्रेलिया लगायतका विदेशी भूमिमा पनि राम्रो कमाई गरिरहेको जानकारी निर्माण टिमले दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.