फ्राइडे रिलिजमा ‘मिलन’ र ‘भेडिया’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘मिलन’ र अभिनेता वरुण धवनको बलिउड फिल्म ‘भेडिया’प्रदर्शनमा आएको छ ।

खासै प्रचारप्रसार नगरिएको फिल्म ‘मिलन’ले देशभरका फिल्म हल भने पाउन सकेको छैन । कतिपय हलमा ४ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र आजैबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘भेडिया’ ले ओगटेको छ।

‘मिलन’ टेक पौरखी राईद्वारा निर्देशित फिल्म हो । मंगलवार प्रिमियर गरिएको फिल्मले प्रिमिएमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटरमा भने राम्रो शो पाएको छैन । ‘मिलन’ मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय छ । एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा फिल्म केन्द्रित छ ।

बलिउड फिल्म ‘भेडिया’ भारतसँगै नेपालमा पनि प्रदशित फिल्म हो । फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित राजधानी र मोफसलका राम्रो शो पाएको छ ।