धादिङ–१ (क) बाट अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ र प्यूठानबाट प्रदेशसभामा रोज राणा विजयी


काठमाडौं । अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत प्राप्त गरेका थिए । श्रेष्ठले केही फिल्म निर्माण तथा अभिनय गरेका छन् ।

यसैगरी प्यूठानबाट प्रदेशसभामा फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा)विजयी भएका छन् । प्यूठान प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका राणा आफ्ना निकटतम् प्रतिद्वन्दीभन्दा १ हजार ७१२ मत अन्तरले विजयी भएका हुन् । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए । उनी प्यूठान क्षेत्र नं.२ को क्षेत्रिय सभापति समेत हुन् ।

प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, रोजले नै बोर्ड जाने इच्छा देखाएनन् ।