२५ औं दिनमा पनि हाउसफुल ‘महापुरुष’, देखिएन् चुनाव र विश्वकपको असर


वरिष्ठ अभिनेता हरिवंश आचार्य र नव अभिनेता अरुण क्षेत्री

वरिष्ठ अभिनेता हरिवंश आचार्य र नव अभिनेता अरुण क्षेत्री


काठमाडौं । तिहारको टीकाको भोलीपल्ट अर्थात कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले चौथो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । प्रदर्शनको २५ औं दिन सोमबार फिल्म हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो देखियो । अधिकांश शोहरु हाउसफुल रहे ।

सोमबार धेरै शोहरु हाउसफुल रहेको भन्दै फिल्मका लेखक एवं निर्देशक प्रदीप भट्टराईले खुशी ब्यक्त गरेका छन् । दर्शकको बलियो उपस्थितिकै कारण मल्टिप्लेक्स हलहरुले चौथो सातामा पनि फिल्मको शो घटाएका छैनन् । तिहार सकिएलगतै चुनाव र विश्वकप फुटबलसँगै विदेशी ठूला फिल्मको भीडभाड देखेपछि प्रायः नेपाली फिल्महरू माघपश्चात मात्र रिलिज हुँदैछन् । अझै, फागुनमा नेपाली फिल्महरु एकआपसमा भिड्दैछन् । चुनावी माहोल र विश्वकप फुटबलसँगै जाडोले ब्यापारमा असर गर्ने अनुमान गरिएता पनि ‘महापुरूष’ले राम्रो ब्यापार गर्न सफल भएको हो ।

कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँका अनुसार केही शुभचिन्तकले उक्त समयमा फिल्म रिलिज नगर्न सुझाव समेत दिएका थिए । बानियाँले भने, –‘हामीलाई फिल्मप्रति विश्वास भएर नै उक्त डेटमा प्रदर्शन गरेका हौं । फिल्म हेर्ने दर्शकले दिनुभएको सकारात्मक प्रतिक्रियाकै कारण शोहरू बढिरहेका छन् र भरिभराउ छन् ।’ चौथो सातामा शोहरू यथावत रहनुले दर्शकको आकर्षण कम नभएको देखाउने लेखक तथा निर्देशक भट्टराई बताउँछन् । ‘फुर्सद र समय मिलाएर आउने हुँदा बिहानी भन्दा दिवा र रात्री शोहरू हाउसफुल छन् । हामीले दिन खोजेको सन्देशसँग दर्शक जोडिनुभएको छ । ब्यापारसँगै फिल्म हेरेर निस्किँदा दर्शकको मुहारमा पाइने सन्तुष्टी नै हाम्रो सफलता हो ।’

सामाजिक कथामा निर्माण भएको ‘महापुरुष’मा हरिवंश आचार्य शीर्ष भूमिकामा छन् । साथमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेल लगायतको पनि शीर्ष भूमिका छ । फिल्मले तीन सातामा ८ करोड रुपैयाँभन्दा बढी कमाई गरिसकेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण चौथो सातामा पनि फिल्मले दर्शकबाट उत्साहजनक साथ पाएको हो । केही सातायता ठूला नेपाली फिल्म प्रदर्शनमा नआउनुको फाइदा पनि ‘महापुरुष’लाई मिलेको छ । म्याक्स दीपेश खत्रीको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन् ।

फिल्मले अमेरिका र अष्ट्रेलियामा समेत राम्रो ब्यापार गरेको छ ।