४ लाख भारुमा अभिनेत्री ज्याकलिनले पाए जमानत


काठमाडौं । मनी लाउन्ड्रिङ मुद्दामा परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई सोमबार पटियाला हाउस अदालतले जमानत दिएको छ।

अदालतले उनलाई दुई लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो। उनले ४ लाख भारुमा जमानत पाएकी छन्। अदालतको आदेश अनुसार उनी विदेश जान पाउने भएकी छन्। अदालतले आगामी तारिख २४ नोभेम्बरमा राखेको छ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार उनको अन्तरिम जमानत १० नोभेम्बरमा सकिएको थियो। त्यसपछि उनले नियमित रुपमा जमानतको लागि निवेदन दिइरहेकी थिइन्।

प्रवर्तन निर्देशनालय इडी ले उनको जमानतको विरोध गरेको थियो। ११ नोभेम्बरको सुनवाईमा इडीले ज्याकलिनविरुद्ध पर्याप्त प्रमाणहरू रहेको बताएको थियो। इडीले ज्याकलिनमाथि प्रमाण नष्ट गर्न सक्ने र विदेश भाग्न सक्ने आरोप लगाएको थियो।

ज्याकलिनले पनि इडीमाथि आफूलाई दु:ख दिएको आरोप लगाएकी थिइन्। साथै उनले यस मुद्दाको छानबिनमा पूरा सहयोग गर्ने बताएकी थिइन्।

सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा इडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो। चन्द्रशेखरले ज्याकलिनलाई महंगा गहना र गाडी उपहार दिएका थिए। त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन्। चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ।

भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएका थिए। इडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको दाबी गरेको छ।