नाजिरको ‘गुलाबी’ ३२ दिनमा छायाँकन सकियो


काठमाडौं । फिल्म ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको फिल्मको आइतवार काठमाडौंमा इन्डक्ल्याप भएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक भट्टले जानकारी गराइन् । फिल्मको एक गीत पछि खिचिने उनले बताइन् । फिल्ममा नाजिर हुसेन मुख्य भूमिकामा छन् ।

पारलैङ्गिकताको कथामा निर्माण भएको फिल्ममा अभिनेत्री सञ्चिता लुइँटेलको पनि अभिनय रहेको छ । निर्माण टिमले छायांकन सकिएको जानकारी दिँदै मिडियालाई उपलब्ध गराएको एक तस्विरमा उनी सिउँदोमा सिन्दूर र गालामा रातो पोते लगाएर निर्देशक भट्टको साथमा देखिएकी छन् । सञ्चिताको यो लुक्सले फिल्ममा उनी कुनै एक पात्रको आमाको भूमिकामा रहेको बुझ्न सकिन्छ ।

फिल्ममा सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको पनि अभिनय छ । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ भने सम्राट बस्नेत द्वन्द्व निर्देशनको रहेको छ ।